arrow

प्रधानसेनापती थापाले अवकाशअघि सार्वजनिक गरे पूर्ण सम्पत्ति विवरणः ६१ तोला सुन, ४६ लाखको शेयर मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
purana-thapa.jpg

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही दिन मात्रै बाँकी रहँदा आफ्नो पूणर् सम्पत्तिको अद्यावधिक विवरण सार्वजनिक गरेका छन् ।

थापाले प्रधानसेनापति बनेपछिको पहिलो पत्रकार भेटघाटमा नै आफूले सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका थिए । उनी सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक तथा प्रधानसेनापतिसमेत बनेका छन् ।

लम्जुङ बेसीशहर नगरपालिका-२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेका थापाले सार्वजनिक गरकेो सम्पत्ति विवरण अनुसार उनको काठमाडौं महानगरपालिका–२६ लैनचौरमा घरसहित ०-८-३-२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६ दहमल ५२ वर्गमिटर जग्गा रहेको छ ।

यसैगरी उनको  लम्जुङ बेसीशहर-२ मा अंशवण्डावापत प्राप्त १२-०-२-२ क्षेत्रफल जग्गा, काठमाडौं महानगरपालिका-२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०-२-०-२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका-२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४ दशमलब ५७ वर्गमिटर जग्गा तथा  छोरी रुरु थापाको नाममा बेसीशहर नपा-२ पैत्रिक १-०-१-३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जगगा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीरा हार छ । यसैगरी उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा रु २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

थापाले सम्पत्ति विवरण्मा ऋण पनि देखाएका छन् । विवरण अनुसार नेपाल बैंकबाट रु एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन रु ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक(एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

उनले यसअघि सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ