arrow

वैदेशिक लगानीका लागि वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

logo
रासस,
प्रकाशित २०७८ भदौ २३ बुधबार
deuba-pm-parliament-house.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधवार आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गरे । 

नेपालले लिएको दीगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध छ भने ।

उनले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताएका छन् । सम्मेलनमार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताए ।  

सङ्घीय नेपालको संरचना साझेदारीमा मात्रै विकास सम्भव हुने विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा मुलुक केन्द्रित भएको छ ।”

ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको प्रधानमन्त्रीको भनाइ थियो । त्यसका लागि नेपाल सरकारकोतर्फबाट आवश्यक सहयोग र समन्वय हुने उनले बताए । आपसी साझेदारीबाट नै त्यस्ता परियोजनाको व्यवस्थापन गर्न सकिनेमा उनको जोड थियो । 

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपालले दिगो विकास लक्ष्यको अवधारणालाई पूर्णरुपमा पालना गरेर अघि बढिरहेको छ भने । उनले उक्त लक्ष्य पूरा गर्न नेपालले आर्थिक वृद्धिमा रहेको दूरी हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कोभिड–१९ महामारीका कारण लगानीको वातावरण बनाउनु र त्यसको सही सदुपयोग गर्नु चुनौतीपूर्ण विषय रहेको पनि उनले बताए । तथापि वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन नीतिगतरुपमै अघि बढेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । कठिन परिस्थितिमा पनि विभिन्न उद्योगले आपसी सहकार्य गरेर काम गरिरहेको भन्दै उनले त्यसको प्रशंसा गरे । 

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र त्यसका लागि आवश्यक वातावरण तयार पार्न सरकार तयार छ भने । अर्थमन्त्री शर्माले लगानीका दृष्टिकोणले पहिलो दशकमा महत्वपूर्ण आधार तयार भएको जानकारी दिँदै अबको १० वर्षमा अपेक्षा पूरा गर्नेस्तरको लगानी गर्न आवश्यक हुने उल्लेख गरे । 

उनले लगानी भित्र्याउने क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण हुने आश्वासन पनि दिए । “ऐन नियम बनेका छन्, त्यसलाई व्यवहारमा सहजीकरण गर्नु जरुरी छ, त्यसतर्फ हाम्रो ध्यान जान्छ”, मन्त्री शर्माले भने ।
 
पर्याप्त लगानी भइनसकेको सन्दर्भमा समीक्षासहित समस्या पहिचान गरी लगानीको वातावरण बनाउनुपर्नेमा मन्त्री शर्माको जोड थियो । “लगानीकर्ता बोर्डको ढोकाबाट प्रवेश गर्दै गर्दा लगानी गर्ने विश्वास दिलाउन जरुरी छ”, अर्थमन्त्री शर्माले थपे । 

स्रोत र साधनको प्रचुरता हुँदाहुँदै जनताको विकास आकांक्षासँग तालमेल मिलाउन धेरै ठूलो मेहेनतको जरुरी रहेको औँल्याउँदै उनले त्यसतर्फ लगानी बोर्डको ध्यान जाने विश्वास व्यक्त गरे । लगानीलाई सहजीकरण गर्न निजी, सरकारी साझेदारीका साथै नागरिकलाई समेत जोड्नुपर्ने उनले बताए । 

व्यापारघाटा अन्त्य गर्दै मुलुकमा समृद्धि हासिल गर्ने सन्दर्भमा आफ्नो पूँजी लगानीले धेरै ढिला हुने हुँदा वैदेशिक लगानी भित्र्याउनुपरेकाले त्यसमा निजी क्षेत्रलाईसमेत प्रोत्साहन गरिरहेको उनले जानकारी दिए । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिए । उनले अहिले जम्मा एक हजार ३०० सय ८३ मेगावाटमात्र उत्पादन भइरहेको बताए ।

उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिए । आगामी तीन, पाँच र १० वर्षभित्र क्रमशः तीन, पाँच हुँदै १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ थियो ।

उनले सार्वजनिक, निजी साझेदारीको अवधारणाअन्तर्गत लघु, मध्यम र ठूला जलविद्युत् परियोजना सञ्चालन गर्ने जानकारी दिए । एउटा प्रदेशमा एउटा सोलार हाइड्रो परियोजना निर्माणको योजना अघि सारिएको उनको भनाइ थियो । जसबाट दुई हजार मेगावाट विद्युत् उत्पादन हुनेछ । 

विद्युत् उत्पादनका लागि  प्रसारण पूर्वाधार अहिलेको महत्वपूर्ण आवश्यकता रहेको औँल्याउँदै उनले विदेशमा विद्युत् व्यापारका लागिसमेत विद्युत् प्रसारण लाइनको विकास र विस्तारको पहल भइरहेको जानकारी दिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए । 

नेपाल लगानीमैत्री देश रहेको औँल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए । उनले सबैको सहभागिता र बोर्डको निर्देशन व्यवस्थापनमा थप सफलता हासिल गर्न सकिने प्रष्ट पार्दै लगानी बोर्ड एक्लैले केही गर्न नसक्ने बताए ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको अवधारणाको विकास गरिएको पनि उनले बताए । निजी लगानीको परिचालनसँगै ठूला परियोजनामा निजी सार्वजनिक लगानीको दायरा बढाउनु जरुरी रहेको उनको भनाइ थियो । उनका अनुसार ऊर्जा, सम्पर्क सञ्जाल, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री र वित्तीय क्षेत्रमा प्रशस्त लगानीको अवसर रहेको छ । 



नयाँ