arrow

एमालेसँग संवाद गर्न सभामुखलाई दलहरूको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
speaker-multi-party-meeting.jpg

काठमाडौं। प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता र संवाद गर्न राजनीतिक दलहरूले सभामुखलाई सुझाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसद् भवनको ल्होत्से हलमा संसद् सञ्चालनका लागि राजनीतिक दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेका थिए । 

तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसहित सो दलका कुनै पनि नेताहरू सहभागी नभएका हुन् । बैठकमा सहभागी नेताहरुले भने सभामुख सापकोटालाई एमालेसँगको छुट्टै बैठक राखेर सहमती गरी संसद् सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा सहभागी शीर्ष नेताहरूले एमालेसँग बैठक गरी सहमतिको वातावरण बनाउन सभामुखलाई आग्रह गरिएको जानकारी दिए । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेसँग संवाद बढाएर सभामुखले फेरि अर्को सर्वदलीय बैठक राख्ने विषयमा नेताहरू सहमत भएको जानकारी दिइन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष पौडेल र लोसपा अध्यक्ष ठाकुर सहितका नेताहरू सहभागी थिए ।

बैठकलाई एमालेले भने बहिष्कार गर्ने निणर्य गरेको थियो । एमाले विभाजनमा सभामुखले सघाएको र पार्टीले कारवाही गरेका १४ जना सांसदबारेको सुचना टाँस नगरिदिएको भन्दै एमाले सभामुखसँग रुष्ट रहँदै आइरहेको छ । 

सोहीकारण एमालेले २३ भदौबाट सुरु भएको प्रतिनिधि सभाको बैठक निरन्तर अबरुद्ध गर्दै आइरहेको छ । 

एमालेले १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस गरेपछि मात्रै छलफलमा बस्न सकिने र त्यसपछि संसद् चल्न सक्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ