arrow

कोभिड-१९ साप्ताहिक अपडेट: सङ्क्रमण दर १० प्रतिशतमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
Infograph-corona-weekly4.jpg

काठमाडौं । पछिल्लो एक साता (भदौ २६ देखि असोज १ गतेसम्म)मा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर १० प्रतिशतमा झरेको छ । गत साता (भदौ १९ देखि २५गतेसम्म)मा सङ्क्रमण दर ११.७१ प्रतिशत देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कका आधारमा  पछिल्ला सात दिनमा ९६ हजार २ सय ४८ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरेकामध्ये ९ हजार ७ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसरी हेर्दा एक सातामा औसतमा सङ्क्रमण दर १०.१६ प्रतिशत देखिएको हो ।

त्यसभन्दा अघिल्लो साता (भदौ १२ देखि १८ गतेसम्म)मा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर १३.५७ प्रतिशत रहेको थियो । यसरी हेर्दा हाल नेपालमा सङ्क्रमण घट्दै गएको देखिन्छ ।

पछिल्ला सात दिनमा ९ हजार ९ सय जना सङ्क्रमित कोभिड-१९बाट सङ्क्रमणमुक्त भएका छन् । यस्तै यसै सात दिनको अवधिमा ८८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

केही अघि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न ठाउँबाट सङ्कलन गरेका नमुना परीक्षण गर्दा करिब ६८ प्रतिशत नमुनामा कोरोना भाइरसको एन्टीबडी देखिएको थियो ।

यसबाट धेरै मानिसमा सङ्क्रमण भएर निको भएको हुनसक्ने अनुमान समेत गर्न सकिने विज्ञहरूले बताएका छन् ।

कुनै ठाउँमा धेरे मानिसहरू सङ्क्रमित भइसकेको हुनसक्ने र अब, अर्को भेरिअन्ट नदेखिएसम्म सङ्क्रमणको जोखिम कम हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

यद्यपि, यसका लागि सो क्षेत्रबाट पर्याप्त मात्रामा नमुना परीक्षण गरेर एन्टीबडी जाँच गरेमा मात्रै पुष्टि गर्न सकिने डा. पुनको भनाइ छ ।



नयाँ