arrow

सर्लाहीका कांग्रेसीको सानेपा पार्टी कार्यालयमै विवाद, एक अर्का विरुद्ध प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
sarlahi-congress-.jpg

सर्लाही । नेपाली काँग्रेस सर्लाहीका नेता, कार्यकर्ताबिच सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा विवाद मच्चिएको छ । पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर गएको मङ्गलवार पार्टी नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र बरहथवा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लखिन्द्र महतोबिच केन्द्रीय पार्टी कार्यालयमै विवाद भएको थियो । 

सो घटनापछि पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षीय मन्त्री सिंह र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय निकट मानिनु हुने वडाध्यक्ष महतो पक्षले बिहीबार एक अर्का विरुद्ध पार्टी कार्यालयमा प्रदर्शन गरेको छ । दुवै समूहले प्रदर्शनका लागि ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता काठमाण्डौं उतारेका छन् । यहीँबाट गाडी रिजर्भ गरेर कार्यकर्ताहरू काठमाण्डौं लगिएको छ ।

 वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले नेता प्रकाश मान सिंह, शेखर कोइराला, सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय लगायतको उपस्थितिमा प्रदेशका मन्त्री सिंहले आफ्नो कार्यकर्तामाथि हातपात गरेको भन्दै प्रदर्शन गरेको छ । 

सो प्रदर्शन लगत्तै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मन्त्री सिंह पक्षले पनि जुलुस प्रदर्शन गरेको छ । मन्त्री सिंहसँगै प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, नेता जंगिलाल राय, हरेश महतो लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो । 

पौडेल पक्षीय काँग्रेस सर्लाहीका पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले क्रियाशील सदस्यता विवादमा धाँधली भइरहेको बताए । गलत बाटोबाट क्रियाशील सदस्यता वितरण गरिएको भन्दै गुनासो राख्न खोज्दा मन्त्री सिंहले आफ्नै कार्यकर्ता तथा वडाध्यक्षमाथि हातपात गरेको रायले आरोप लगाएका छन् । 

देउवा निकट काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले भने जिल्लाको क्रियाशील सदस्यता विवाद ठुँगिसकेको भए पनि विवाद झन् बढाइएको बताए । उनले प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह र वडाध्यक्षबिचको विवाद सांसद अमरेश कुमार सिंहद्वारा सुनियोजित रूपमा गराइएको आरोप लगाए । 

पछिल्लो घटनापछि काँग्रेस सर्लाहीको क्रियाशील विवाद झन् पेचिलो बनेको छ । सर्लाहीमा मुख्य गरी २ नं. क्षेत्र र ४ नं. क्षेत्रमा क्रियाशील सदस्यता विवाद छ । 

यसैबिच, पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय र ४ नं. क्षेत्रका क्षेत्रीय सभापति राम आश्रय साहले बिहीबार बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर सांसद अमरेश कुमार सिंहको उक्साहटमा मङ्गलवार को घटना भएको आरोप लगाउँदै उनीमाथि कारबाहीको माग गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ