पबित्र मनले सोचौं न, उनलाई के नपुग्दो होला? कवाडीमा फालेको बेडमा आफ्नो प्राणको आहुती दिन तत्पर भई किन लड्दैछन होला ? स्वास्थ्य क्षेत्रमा सुधार हुनु पर्यो भनेर किन आठौं पटक सम्म आन्दोलन गर्दै छन् होला ? कस्ता महत्वाकांक्षा पुरा भएनन् होला र यिनका ? मलाई ज्ञात भएसम्म नेपालमा, आफुले उठाएको मुद्दा पूर्ण सम्बोधन र कार्यान्वन हुनु पर्छ भनेर यसरी अड्डी कस्ने र मुद्दा सम्बोधन नहुदाँ सम्मै निरन्तर आन्दोलनमा होमिने डा गोविन्द केसी पहिलो व्यक्ति हुन्। आन्दोनललाई निहित स्वार्थ पुर्ती गर्ने भर्याङ त धेरैले बनाए, आन्दोनलमा प्राप्त जनसमर्थनलाई ब्यक्तिगत लालसा पुरा गर्ने माध्यम त धेरैले बनाए तर आन्दोलनलाई मत्थर पार्न गरिएका सम्झौता कार्यान्वन हुनुपर्छ भनेर आन्दोनल पश्चात खबरदारी र माग सम्बोधन नहुदाँ निरन्तर आन्दोनलमा होमिने ल्याकत कसैले पनि राखेका थिएनन्।
वरिष्ठ हाड जोर्नी विशेषज्ञ, टिचिङ अस्पतालका प्रतिष्ठित डाक्टर, बिरामीका प्रिय डा. केसीले कसैकसैले अनाहकमा लगाएको आरोप जसरी केही ‘निहित स्वार्थ पूर्तीका’आफ्नो शरीरलाई भोकभोकै गलाउनु पर्ने नै थिएन। यहाँ त्रिभुवन बिश्वबिद्यालयको तलब खाने तर दाम अन्तकै रुचाउने, पेशा भन्दा पैसा प्रधान ठान्ने, पहिचान होईन पदका लागि काम गर्ने धेरै छन्। तर काम गर्दा गर्दै पहिचान बनाउने, पेशालाई कर्म ठान्ने, निस्काम कर्म गर्न रुचाउने थोरै नै छन्। ईमानको खडेरी परेको हाम्रो मुलुकमा ईमान्दारीताको कदर नहुनु कुनै नौलो कुरा नै होइन। डाक्टर केसीको ईमान खरीद गर्ने नसक्दा पदमा बसेकाहरु उनिमाथी संगीन आरोप सहित मानसिक अस्पताल जानू पर्ने भन्दैछन्। इतिहास निकै शंकास्पद हुनेहरुले आरोप जस्तोसुकै लगाए पनि तटस्थ भएर आफ्नो ब्रम्हलाई सोध्दा सत्य के होला भनेर सहजै अनुमान गर्न सकिन्छ।
गीतामा श्री कृष्णले भनेका छन्, “कर्म पथमा हरेक व्यक्ति हिडेको हुन्छ। साधारण मानिस केहि स्वार्थ र फाईदा देखेन भने कर्म गर्न चाहँदैन तर बिशेष मानिसलाई स्वार्थ र फाईदाको खासै महत्व हुँदैन, परिणाम पनि माने राख्दैन केवल कर्ममा ध्यान हुन्छ, निश्वार्थ कर्म गर्नु उनीहरुको प्राथमिकतामा पर्छ”। डा. केसी व्यक्तिगत लाभ र हानी भन्दा माथि उठेर समाज, व्यवस्था र पद्धतका खातिर अहिलेको संघर्षमा छन्। उनले उठाएका मुद्धा सम्बोधन हुँदा/नहुँदा उनलाई व्यक्तिगत रुपमा न केहि अधिक लाभ नै हुने हो। न त हानी। उनी त आम मानिसको लाभको लागि लड्दैछन्। उनको एक मात्र स्वार्थ भनेको रिती र थिती अनुरुप संस्थाहरु चल्नु पर्दछ भन्ने हो। नियम कानुन मान्नु पर्छ भन्ने हो। गरिव, धनी सम्पूर्णले पद्दति र प्रक्रियाले सेवा पाउनु पर्छ भने हो। पहुँच भन्दा आवश्यकतालाई महत्व दिईनु पर्छ भन्ने हो। उनले उठाएका कुनै पनि मुद्धा व्यक्ति हित वा व्यक्ति बिरुद्ध हुदै होईन उनले आम हितका बिषयलाई उठाएका हुन्।
के सबै प्रदेशमा अस्पताल खुल्दा डा. केसीका आफन्तको उपचार हुने हो ? के राम्रा चिकित्सकले डा. केसीको मात्रै स्तरिय उपचार गर्ने हुन् ? उनले चाहने थिए भने आफु सहजै समृद्ध जीवन जिउन सक्ने थिए तर उनको बाटो भिन्न छ। काम, क्रोध, लोभ, मोह र ईष्या बाट मुक्त आफ्ना ईन्द्रियलाई बसमा राख्न सक्ने अविवाहित डा. केसीका कुनै ब्यक्तिगत लालसा, व्यक्तिगत सुखसयल भन्दा निकै माथि उठिसकेका छन्। लोकहितका लागि कर्म गर्नुपर्छ भन्ने उनको दृढ चाहना छ। उनले चर्चामा आउनकै आठौं पटक आन्दोलन गर्नु पर्ने जरुरी थिएन। बजारमा उनलाई हेर्ने धेरैको नजर सकारात्मक छ, उनी चर्चित छन् नै। उनलाई आफ्नो चर्चाको चिन्ता नभएर प्रणालीको चिन्ता हो, पद्दतीको चिन्ता हो। उनले रोजेको बाटोमा हिड्न सक्ने हरेक व्यक्ति यसैगरी चर्चामा आउन त सक्छ तर उनले रोजेको बाटो हिड्न अदम्य साहस, ईमान अनि काम, क्रोध, लोभ, मोह र ईष्याबाट मुक्ति साथै दृढ़ ईच्छा शक्तिको आवश्यकता रहन्छ। तर हामीहरुमा रहेका ब्यक्तिगत आकांक्षा, आफ्ना अनि परिवारका सपनाका बन्धनले गर्दा डाक्टर केसीकै रोजाईको बाटोमा हिड्ने सामर्थ्य छैन्। तर हामी अहिले दिल खोलेर, सामर्थ्यले सकेसम्म उनले हाम्रालागी उठाएका माग पूरा गराउन सरोकारवाला पक्षलाई चाहिने जति दबाब दिन सक्छौ र दवाब दिनु अहिलेको आवश्यकता र समयको माग पनि हो। भबिष्यमा हामीले चाहेर पनी हाम्रा लागि लड्ने गोबिन्द केसी पाउने छैनौं।
हरेकको मनमा डाक्टर केसीप्रती सद्भाव छ, उनले उठाएका मुद्धा हाम्रा लागि हुन् भन्ने ज्ञात पनि तर हामी अधिकांस व्यक्ति, आफ्ना दैनिक कर्म अनि प्राथमिकतालाई दोषी देखाई सहि मानेमा सरोकारवाला पक्षलाई यथेष्ट दवाब दिन सकिरहेका छैनौं। जनताको शक्तीको ताकत कति सशक्त छ भने प्रमाण भर्करै टर्कीमा घटेको घटनाले पनि देखाएको छ। हतियारधारी सेनाले सत्ता हत्याउन खोज्दा निर्वाचित सरकारको पक्षमा जनता देखा पर्दा सेनाको कदम पूर्ण बिफल हुन पुगेको थियो। अहिले हाम्रो देशमा पनि डा. केसीको समर्थनमा पर्याप्त देखिने गरी जनलहर नहुँदा सरोकारवाला निकाय निकै मौन भएर बसेका छन्।
आज अनसनको नवौ दिन चल्दैछ, शालीन शैलीको आन्दोलन सफल हुनेमा शंका त छैन तर हरेक कुरा समय छदै सहि तवरले सम्बोधन हुने हो भने भविष्यमा हुने अधिक नोक्सानीबाट मुलुकलाई बचाउन सकिन्छ। जनता मौन छन् भन्नुको अर्थ मौन नै रहने छन् भन्ने हुदै होईन। राजनैतिक दले बुझ्नु पर्ने महत्वपूर्ण कुरा भनेको “परिवर्तन नै संसारको नियम हो”। संसारको ईतिहास हेर्दा परिवर्तनको सुरुवात कुनै राजनैतिक दलले योजना बद्ध गरेको आन्दोलन बाट नभएर कुनै व्यक्तीले आम हितका मुद्धा उठाउदै गर्दा बन्ने समुहले परिवर्तनको नेतृत्व गरेको छ। अहिले हेर्दा डाक्टर केसीका माग केवल स्वास्थ क्षेत्र संग सम्बन्धित जस्तै देखिन्छ तर यथार्थमा उनको माग निती, नियम, पद्धति प्रक्रियाका लागी हो । स्वास्थ क्षेत्र त एक उदहारण मात्रै हो।
अहिले भईरहेको सरकार परिवर्तनको खेलले पनि जनतामा राजनीतिक दलप्रति नैराश्यता बढ्दै गईरहेको छ। यदि डा केसीका माग समयमै सम्बोधन हुन सकेन र उनको जीवन संकटमा पर्ने अवस्था आयो भने अब हुने आन्दोलनले स्थापित राजनैतिक दललाई पनि सफाई गर्न सक्ने छ। दक्षिण एसियाली मुलुकको धुलित राजनैतिक अवस्थाले यो क्षेत्र नै चरम गरिबीको चपेटाबाट पिल्सिएको छ। स्थापित राजनैतिक दलले जन आकांक्षा सम्बोधन गर्न नसक्दा श्रीलंका, भारतको नयाँ दिल्लीमा नयाँ धारका राजनैतिक दल जन्मन पुगेका थिए। प्रारम्भमा उक्त क्षेत्रका जनताले पनि थिती र प्रक्रियाकै माग गरेका थिए तर मूलधारका राजनैतिक दलले जनताका माग सम्बोधन नगर्दा उनीहरुले उक्त क्षेत्रमा आफ्नो राजनीतिक पकड नै घुमाउन पुगेका छन्। नेपालमा पनि त्यस्तै हुदैन भन्न सकिदैन। अहिले डाक्टर केसी केवल नीतिको माग गर्दैछन यदि यो आन्दोलनलाई मुलुकका राजनैतिक दलले समयमै सम्बोधन गर्ने चाहेनन् भने अहिले चुलिएको राजनैतिक दलप्रतीको वितृष्णा र डाक्टर केसीका मुद्धा र जन समर्थनको कुनै समुहले लाभ लिन सक्ने छ। तर त्यो अवस्थामा मुलुकले निकै ठुलो नोक्सानी भोग्ने छ। तसर्थ, डाक्टर केसीका माग समयमै सम्बोधन गर्नु मुलुकको हितमा त छ नै अहिलेका राजनीतिक दल र नेताको पनि हितमा रहेको छ।
#IamWithDrKC
@kailpal/snepalmail@gmail.com