- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीमा नेपाली काँग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाका ९ वटै पालिकाको अधिवेशन सम्पन्न भएको हो ।
दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीका चार पालीकामा सर्वसम्मत कार्यसमिति चयन भएको काँग्रेस सचिव नारायण जोशीले बताए । उनका अनुसार पाँच पालिकामा भने निर्वाचन प्रणालीबाट कार्यसमिति चयन भएको हो ।
केआईसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र पूर्वी चौकी गाउँपालिकामा सर्वसम्मत कार्य समिति चयन भएको हो ।
केआईसिंह गाउँपालिकामा अर्जुन बलायर, दिपायल सिलगढी नगरपालिकामा गणेश मलासी, आदर्श गाउँपालिकामा चन्द्र नाथ ओझा र पूर्वी चौकी गाउँपालिकामा बल बहादुर खड्काको नेतृत्वमा पालिका कार्यसमिति चयन गरिएको हो ।
जिल्लाको शिखर नगरपालिका, सायल गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सील गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको छ ।
शिखर नगरपालिकामा सभापति बाहेक अन्य कार्यसमिति सर्वसम्मत चयन भएको थियो । सभापतिमा हर्क बोगटी र दीर्घ बलायरका बिच चुनावी प्रतिस्पर्धा भएको थियो । बोगटी ९० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बलायरले ७५ मत प्राप्त गरेका थिए ।
बडीकेदार गाउँपालिकामा सभापति, उपसभापति र सचिवका बिच चुनावी प्रतिस्पर्धा भएको थियो । सभापतिमा करुणाकर जोशी ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका थिए ।
त्यस्तै जोरायल गाउँपालिकामा सभापतिका लागि निर्वाचन भएको छ । मोहन मल्ल ५४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी नर बहादुर बोहराले ३६ मत प्राप्त गरेका थिए ।
सायल गाउँपालिकामा तेजराज ओझाको नेतृत्वमा पालिका कार्यसमिति चयन भएको छ । सभापति, उपसभापति र सचिवका लागि चुनावी प्रतिस्पर्धा भएको हो । ओझा ६५ मत प्राप्त गर्दै सभापतिमा चयन भएका हुन् भने उनका प्रतिद्वन्द्वी राम बहादुर बोगटीले २५ मत प्राप्त गरेका थिए ।
बोगटान फुड्सील गाउँपालिकामा आइतबार सभापतिका लागि चुनावी प्रतिस्पर्धा भएको छ । निर्वाचनबाट ७९ मत प्राप्त गर्दै खडक सिंह बोहरा सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी चक्र सिं केसीले ७ मत प्राप्त गरेका थिए ।
समग्र जिल्लामा शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेस डोटीका सभापति प्रदीप कुमार देउवाले बताए ।