arrow

सरकारले थप खोप पठाउन छाडेको गुनासो, मगाइदिन सिडिओलाई आग्रह

logo
रमेश गिरी,
प्रकाशित २०७८ असोज १२ मंगलबार
corona-vaccine-covid.jpg

भक्तपुर । जिल्ला स्वास्थ्य कार्यालयले सरकारले भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप पठाउन छाडेको भन्दै थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ । जिल्लाका धेरै नागरिकले खोप लगाइसकेको भन्दै सरकारले थप खोप पठाउन छाडेको कार्यालयको गुनासो छ । 

विपद व्यवस्थापन र पूर्व तयारीबारे जिप्रकाको छलफल कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले थप खोप उपलब्ध गराइदिन माग गरेका हुन्  । उनले भने, “सरकारले ४० वर्ष माथिका र विगतमा खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउने भनेको छ तर भक्तपुरलाई खोप दिदैन, सरकारले भक्तपुरलाई खोप धेरै भयो भनेर कोभिडको भ्याक्सिन पठाउनै छाड्यो, भक्तपुरलाई थप भ्याक्सिन उपलब्ध गराइदिन सिडिओले पहल गरिदिनु पर्‍यो ।” 
    
कार्यालय प्रमुख मिजारले जिल्लाका तीन लाख ७४ हजार २१५ जनसङ्ख्यामध्ये हालसम्म एक लाख ९२ हजार ९३५ लाई खोप लगाइएको भन्दै यहाँका खोप लगाउने उमेर समूहका ५१ प्रतिशतले मात्र खोप पाएको बताए । उनले भने, “भक्तपुरमा खोप लगाएकाको तथ्याङ्क हेर्दा ५१ प्रतिशतले मात्र खोप पाएका छन् तर यो तथ्याङ्कअनुसार खोप सबै भक्तपुरका स्थायी बासिन्दाले मात्रै लगाएका होइनन्, अस्थायी रुपमा बस्दै आएका बाहिरी जिल्लाका नागरिक पनि यहीँ तथ्याङ्कभित्र पर्छन्, त्यसैले स्थायी बासिन्दालाई खोप पुगेको छैन, मगाइदिन पहल गर्नुपर्‍यो ।” 

जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना संक्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए ।

छलफलमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना संक्रमित घटेपछि नगरपालिकाले दुवाकोटस्थित इञ्जिनीयरिङ कलेजमा सञ्चालन गरेको ५० श्य्याको आइसोलेशन सेन्टर एकसातादेखि बन्द गरिएको जानकारी दिए । उनले भने, “तीन महिनासम्म आइसोलेशनमा बस्न कोही संक्रमित आएनन्, त्यसपछि बन्द गर्‍यौँ, तेस्रो लहर आयो भने पुनः सञ्चालन गछौंँ ।” नगर प्रमुख मिश्रले कोभिडकै महामारीमा सञ्चालन भएको चाँगुनारायण नगर अस्पतालमा ८० संक्रमितको उपचार भएको, अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको, तेस्रो लहर आए तयारीमा रहेको बताउँदै संक्रमितलाई चिकित्सकद्वारा प्रत्येक दिन जुममार्फत दिइने स्वास्थ्य परामर्श धेरै प्रभावकारी भएको बताए ।

 उनले भने, “मानिसमा लापर्वाही बढेको छ, संक्रमित आफै चिया पसलमा बसेर गफ लडाइरहेका हुन्छन्, दूधको क्यान बोकेर दूध मिलमा गएको देखिन्छ, कतिपय रोग लुकाएर निस्फिक्री हिँड्छन्, यस्ताबाट जोखिम बढ्यो ।”

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरको ५० हजार नागरिकलाई खोप दिइएको, २० हजारको निःशुल्क पिसिआर परीक्षण गराइएको र स्वास्थ्य परामर्श तथा आइसोलेशनको व्यवस्था गरिएको बताउँदै आगामी एक महिनाभित्र जगातीमा सुविधा सम्पन्न सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याइने बताए ।
    
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले १०२ श्यया सञ्चालन गरिरहेको र २०७६ चैतबाट आफ्नै पिसिआर ल्याब सञ्चालन गरिएको जानकारी दिए । कोरोनाको तेस्रो लहरका लागि तयारीमा नगरपालिका रहेको बताउँदै उनले भेन्टिलेटरसहितको १५ श्ययाको सघन उपचार कक्ष, बच्चाको सघन उपचार कक्ष र अक्सिजन प्लान्टसहित विभिन्न सेवा थप गर्दै ल्याइएको छ भने ।
    
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले ७५ श्ययाको आइसोलेशन सञ्चालन गरेको, आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गरेको, २५ श्ययाको कोभिड ब्लक र भेन्टिलेटरसहित सात श्ययाको सघन उपचार कक्ष सञ्चालन गरेको जानकारी गराउँदै तेस्रो लहरका लागि आफूहरू तयारीमा रहेको बताए ।
    
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतमले अहिले कोभिड संक्रमित घट्यो भनेर ढुक्क भएर बस्ने अवस्था नभएको बताइन् । यस अस्पतालमा दोस्रो लहरका ४३८ संक्रमितको उपचार गर्दा ३८ जनाको ज्यान गएको र अब बच्चा ठूलो जोखिममा रहेकाले उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिइन् । 

“भक्तपुर अस्पतालमा तेस्रो लहरको तयारी गर्दै भर्खर जन्मेको बच्चादेखि १८ वर्षसम्मका लागि छट्टै र त्यस भन्दामाथि उमेरका लागि छुट्टै गरी छ श्ययाको भेन्टिलेटरसहित ३२ शय्ययाको सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छौँ,” डा गौतमले भनिन्, “आफ्नै अक्सिजन प्लान्ट, २४ सै घण्टा पिसिआर परीक्षण, आकस्मिकदेखि सबै उपचार सञ्चालन गरिरहेका छौँ ।” यस अस्पतालमा अहिले दैनिक ८०० को हाराहारीमा बिरामी आइरहेका र कोभिड संक्रमित निको भएपछि निकै समस्या हुनसक्ने देखिएकाले पोष्ट कोभिड क्लिनिक सञ्चालन गरिएको बताइन् ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति मनोजकुमार थापाले यसअघिका हरेक विपदमा रेडक्रसले घरघरमा गएर सहयोग पुर्‍याएको र अहिले पनि जस्तोसुकै विपद् आएपनि सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रजिअ शर्माले मंगलवार उपत्यकाका तीन सिडिओको बैठकले कोभिडको विपद् एवं निषेधाज्ञाबारे निर्णय गरिएको बताए । उनले चाडबाड नजिकिएकाले शान्ति र सुरक्षालाई मजबुद बनाउनाका साथै बजार अनुगमन, र दसँैमा बाहिर जाने तथा आउनेबाट कोभिडको सुरक्षाका बारेमा थप निर्णय गरिएको बताए । 
जिल्लामा कोभिड-१९ देखि अन्य विपद्का लागि पनि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्दै उनले विपद्मा सबैले हातेमालो गर्दै अगाडि बढ्न सके मात्रै विपद्लाई परास्त गर्न र सङ्कटको सामना गर्न सकिन्छ भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ