arrow

राष्ट्रिय भलिबल: हेल्प नेपाल र पुलिसको जीत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
gandaki-vollyball.JPG
फाइल तस्विर।

काठमाडौं। छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गलकोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गलकोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता समेत बन्यो ।   

हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजित गर्‍यो । यस जीतसँगै हेल्प नेपालले तीन खेलमा ९ अङ्क बटुल्यो । हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै पराजित गलकोट समूह उपविजेता बन्दै क्वाटर फाइनलमा पुगेको छ । गल्कोटले ३ खेलमा ६ अङ्क जोड्यो । यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको छ । पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–१४ र तेस्रो तथा अन्तिम २५–१८ को सेटमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गर्न सफल भयो । जीतसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोड्यो ।

त्यस्तै पाँच अङ्क जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटर फाइनलमा पुग्यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन्  । 



नयाँ