arrow

'डब्लुएचओको कङ्गो मिसनमा बलात्कारसहित यौन दुर्व्यवहारका ८० घटना'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
congo ebola who abuse.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गठन गरेको एक स्वतन्त्र अनुसन्धानले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपका बेला ८० भन्दा बढी यौन दुर्व्यवहारका घटना भएको निष्कर्ष निकालेको छ। जसमा २० जना डब्लुएचओकै कर्मचारीसमेत संलग्न रहेको पाइएको छ। मङ्गलवार सार्वजनिक भएको ३५ पेज लामो रिपोर्टले संयुक्त राष्ट्र सङ्घको संस्थासँग जोडिएको सबैभन्दा ठुलो यौन दुराचार उजागर गरेको छ।

सन् २०१८ देखि सन् २०२०सम्ममा स्थानीय रूपमा राखिएका कर्मचारीले अन्तर्राष्ट्रिय टोलीकै कर्मचारीले यौन दुर्व्यवहार गरेको पाइएको हो। सबैभन्दा कम उमेरकी पीडितलाई डब्लुएचओकै सवारी चालकले एक होटेलमा लगेर बलात्कार गरेको रिपोर्टमा उल्लेख छ। रोडमा फोन कार्ड बेच्ने ती किशोरीलाई घरसम्म छोडिदिन्छु भन्दै चालकले होटेलमा लगेर बलात्कार गरेका थिए।

स्वतन्त्र प्यानलका सदस्य मलिक कौलिबालीले बलात्कार सम्बन्धी ९ वटा घटना भएको मिडिया ब्रिफिङमा बताएका छन्। अपराधीहरूले गर्भ नियन्त्रणका कुनै साधन प्रयोग नगरेको पीडित महिलाले बताएका छन् । त्यसपछि केहीलाई गर्भपतन गराउन बाध्य पारिएको थियो।

बलात्कारको सिकार भएका र यौनको बदलामा कामको प्रस्ताव राखिएका दर्जनौँ हिलासँग स्वतन्त्र अनुसन्धानको टोलीले अन्तर्वार्ता लिएको थियो।

अनुसन्धानकर्ताहरुले यौन दुर्व्यवहार आरोप लागेका ८३ जनाको पहिचान गरेको छ । तीमध्ये २१ वटा घटनामा इबोला प्रकोपका बेला डब्लुएचआकै कर्मचारीको संलग्नता रहेको उनीहरूले निष्कर्ष निकालेका हुन् ।

डब्लूएचओका महानिर्देशक  डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त दस्ताबेजलाई दुखद रहेको बताउँदै पीडितहरूसँग माफी मागेका छन् ।

'यो मेरो सर्वोच्च प्राथमिकता हो, कि अपराधीहरूलाई माफी छैन सजाय हुन्छ,' उनले एक पत्रकार सम्मेलनमा भने।

डब्लुएचओ अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले यो निष्कर्षले दुखी बनाएको बताएकी छन् ।'डब्ल्यूएचओमा हामी साँच्चै विनम्र, भयभीत र यस छानबिन को निष्कर्ष बाट दुखी छौँ,' उनले भनिन्।

'हाम्रा स्टाफ सदस्यहरू र हामीले उनीहरूको समुदायमा पठाएका मानिसहरूको कामले उनीहरूले भोग्नु परेको पीडाको लागी हामी ती महिलाहरू र केटीहरूकाे  लागी माफी माग्छौँ,' उनले भनिन् ।

सन् २०१८ मा कङ्गोमा इबोला भाइरसकाे प्रकोप सुरू भएकाे थियाे । त्यतिबेला पठाएका ग्लोबल हेल्थ एजेन्सीको रिस्पन्स टोलीका स्टाफले यौन दुर्व्यवहार गरेको घटना गत अक्टोबरमा मिडियाहरूले सार्वजनिक गरेका थिए ।

त्यसपछि आक्रोशित डब्लुएचओले अनुसन्धान टोली गठन गरेको थियो । स्वतन्त्र अनुसन्धान टोलीको निष्कर्षपछि अहिले ४ जनालाई कामबाट निकालिसकेको छ, भने बाँकीलाई छानबिन एवं कारबाहीको तयारी भइरहेको बताइएको छ ।



नयाँ