इबोला भाइरसको नयाँ प्रकोप: नेपालमा कस्तो छ तयारी ? [भिडियो]
नेपालमा तत्कालै इबोला संक्रमणको भय नभए पनि पूर्वतयारीका आवश्यक कदमहरू चालिसकिएको, आत्तिनुपर्ने अवस्था छैन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
648
Shares
काठमाडौँ । अफ्रिकी मुलुकहरू कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वव्यापी जनस्वास्थ्यको यो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि सम्भावित जोखिम न्यूनीकरणका लागि निगरानी र तयारीका कामहरू तीव्र बनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा तत्कालै इबोला संक्रमणको भय नभए पनि पूर्वतयारीका आवश्यक कदमहरू चालिसकिएको छ। सरकारले इबोला भाइरस संक्रमण देशमा भित्रिन नदिन र सम्भावित जोखिम व्यवस्थापनका लागि विभिन्न उपचारात्मक तथा निरोधात्मक उपायहरू अवलम्बन गरेको छ।
मन्त्रालयले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीहरूको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र रोग नियन्त्रणसम्बन्धी निकायहरूसँग तीव्र समन्वय गरिरहेको छ। संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित नाका तथा प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। उनीहरूले यात्रुहरूको स्वास्थ्य निगरानी गर्ने, संक्रमणसम्बन्धी अभिमुखीकरण दिने तथा शङ्कास्पद बिरामीको परीक्षण र व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिरहेका छन्।
यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको ‘इमर्जेन्सी मेडिकल टिम’ लाई सक्रिय बनाइएको छ। यो टिमले अन्य महाशाखाहरूसँग मिलेर जोखिम न्यूनीकरणको काम गरिरहेको छ। डब्लूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार विभिन्न देशहरूसँग सूचना आदानप्रदान भइरहेको छ भने संक्रमणको जोखिम भएका क्षेत्रबाट फर्किने सुरक्षाकर्मीहरू समेत अनिवार्य रूपमा क्वारेन्टाइनमा बसेर मात्र आउने व्यवस्था गरिएको छ।
इबोला भाइरस सुरुमा जंगली जनावर जस्तै चमेरा, चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग र दुम्सीबाट मानिसमा सरेको हो। संक्रमित जनावरको मासु खाँदा, रगत वा जैविक रसको प्रत्यक्ष सम्पर्कमा आउँदा यो मानिसमा सर्छ। मानिसबाट मानिसमा भने संक्रमित व्यक्तिको रगत, जैविक रस, काटिएका अङ्गहरूको प्रत्यक्ष सम्पर्क तथा यौन सम्पर्कका बेला वीर्य वा योनीरसको माध्यमबाट यो भाइरस सर्ने गर्दछ।
संक्रमणको सुरुवाती चरणमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, घाँटी र पेट दुख्ने, कमजोरी महसुस हुने, भोक हराउने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। भाइरसको असर बढ्दै जाँदा बान्ता हुने, पखाला लाग्ने, छालामा डाबर वा रातो धब्बा आउने तथा मृगौला र कलेजोले काम गर्न छाड्ने जस्ता जटिलता देखिन्छन्। निकै गम्भीर अवस्थामा नाक, आँखा, कान, योनी, गिजा र आन्द्राबाट समेत रगत बग्ने र खकारमा समेत रगत देखिन थाल्छ। धेरै रगत बगेकै कारण बिरामीको मृत्यु हुन सक्ने खतरा रहन्छ।
रगतको परीक्षण गरेर यो भाइरस पत्ता लगाउन सकिन्छ। इबोला भाइरस विरुद्ध धेरै भ्याक्सिनहरू परीक्षणको क्रममा रहे पनि अहिलेसम्म कुनै पनि खोप वा प्रभावकारी औषधि आधिकारिक रूपमा प्रयोगमा आइसकेको छैन। त्यसैले, यसका बिरामीलाई औषधी भन्दा पनि विशेष स्याहारको आवश्यकता पर्दछ। संक्रमितलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने तथा पानीसँगै नुन र चिनीको घोल बनाएर खुवाउनु नै यसको प्राथमिक उपचार र व्यवस्थापन हो।