arrow

दश वर्ष खाडीमा पसिना बगाएर फर्किएकाको पाँच लाख कमाइ, अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना

logo
धु्रवसागर शर्मा,
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Milk.jpg.jpeg

गलेश्वर । प्रायः नेपाली युवा रोजगारीका लागि विदेश  जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ ।  

म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाएका छन् । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उनले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गरे । “ मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ”, उनले भने ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उनलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए ।

साथीहरुले उनका विचारलाई उडाए । बुद्धि नभएको भने उनी आफ्नो निर्णयमा अडिग रहे । अनि सुरु गरे भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उनको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उनले  आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गरे । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् । 

उन अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्छन् ।  दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उनले मासिक रु पाँच लाख आम्दानी गरेका छन् । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उनको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उनले बताए । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन्।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्‍याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्‍याएपछि बल्ल शरीरमा फूर्ति आउँछ”, उनले भने ।

प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उनले बताए । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्‍याउछन् । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, ढुङ्गानाले भने ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उनले सुनाए । उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउछन् ।
 
उनको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उनले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले उनका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उनको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ