arrow

बुद्ध एयरमा भएको घटना अनुसन्धान हुँदै, 'इरर' भएको हुनसक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Buddha_Air.jpg.jpeg
फाइल तस्विर।

काठमाडौं। नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाईजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाईजहाजमा देखिएका प्राविधिक समस्याहरूको बारेमा छलफल गरेको हो । 

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए । उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरू देखिनु स्वाभाविक भएको तर्क गरे ।

उपसचिव लामिछानेले भने, ‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको इन्भेष्टिगेशनको चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भई नै हाल्छ,अस्तिको घटना एउटा प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ ? भन्ने कुरामा यो त जब इन्जिन स्टार्ट हुन्छ, तब घटनाहरू हुन सुरु हुन्छन्,त्यहाँ मिसिन हुन्छ, मान्छे हुन्छन्, आकाशमा, बादल लगायतका धेरै चिजहरूको सम्मिश्रण हुँदा,घटनाहरू हुने सम्भावना भइरहन्छ,कति घटनाहरू रेगुलेटरलाई पनि थाहा हुँदैन,कति कुराहरू पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ,कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ,साना घटनाहरूलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।’

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्डयन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहस्र स्विकार्ने बताए।

महानिर्देशक क्षेत्रीले भने, ‘हाम्रो पार्टबाट हामीले कहीँ कतै कमजोरी छोडेका छैनौँ,विगतको घटनाहरू म भन्न चाहन्न,तर अहिले राजुजीको जुन टिम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, उहाँहरूले आफ्नो काम गरिरहनुभएको छ, यस्तो मिटिङबाट राम्रो सुझाव आए हामी अलाउड गर्न तयार छौँ ।’

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपुर्जा, ल्यान्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘हालसालैको जुन घटनाको कुरा आयो,घटनाको छानबिन रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौँ, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौँ,जहाजको मर्मत सम्भारको कुरामा जहाजलाई निर्माण गर्ने क्रममा जहाजको सबै पार्टपुर्जाको लाइफ तोकेको हुन्छ, ल्यान्डिङ, त्यसको पार्टपुर्जामा समय तोकिएको हुन्छ,त्यसपछि त्यो जहाजको जन्म कुण्डली भयो, यो जहाजको उमेर यति हो ।’

यति एयरलाइन्स प्रा.लि.का अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरूले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरू सबै परीक्षण गरिसकेपछि पनि हुने उनले बताए ।

उनले भने, ‘ठाउँ ठाउँमा स्टेसनहरूमा इन्जिनियर, टेक्निसियन्सहरु हुनुपर्छ, हरेक पाइलट, इन्जिनियरहरुको लाइसेन्स हुन्छ, नभएकोले केही गर्न पाउँदैन,उड्नुभन्दा अघि सबै परीक्षण हुन्छ,त्यहाँ इन्जिनियरले फिक्स नगरीकन उड्दैन, पाइलटले पनि चेक गरेको हुन्छ,एक ठाउँमा विमान चेक गरेपछि त्यो दिनभर गरिरहनु पर्दैन ।’

श्री एयरलाइन्स प्रा.लि.का अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहोरिएको बताए । उनले सधैँ आइरहनु ठुलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठुलो समस्या भन्न नसकिने बताए । उनले १५ वर्षको इतिहासमा पहिलो पटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए।

अध्यक्ष मित्तलले भने, ‘काहीँ लामो यात्रामा जाँदा गाडीको पनि सबै पार्टहरू चेक गरिन्छ,त्यो हुँदाहुँदै पनि गाडीको पनि त ब्रेकफेल हुन्छ नि,बेलाबेलामा असाधारण रूपले, साधारण होइन, सधैँ हुन्छ भने त्यो समस्या हो, कारबाही गरिनुपर्छ, मैले जानेको यो १५ वर्षमा पहिलो पटक हो, विमानका पाङ्ग्रा ननिस्किएको, अहिलेसम्म मलाई थाहा छैन, सधैँ यस्तो किसिमको समस्या पनि आइरहँदैन, त्यसैले यसै समस्यालाई मात्रै लिएर कारबाही गर्नुहुँदैन ।’

अध्यक्ष मित्तलले अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि विगत ५ वर्ष यता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताए । एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताए । 



नयाँ