- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । नेपालगन्जको जमुनाहा नाकामा बडा दशैं, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले कडाई गरेको छ । जिल्ला प्रहरी बाँकेले आज बिहानदेखि जमुनाहा नाकामा तालिम प्राप्त प्रहरी कुकुर परिचालन गरेको छ ।
बाँके प्रहरीले कोहलपुरबाट डग हेन्डलर सहितको टोली लिएर जमुनाहा नाकामा चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार ती तालिम प्राप्त कुकुरहरुले गाडी तथा यात्रुहरुका सामाग्रीहरु सुँघेर चेकजाँच गरेको छ । नाकामा हुन सक्ने कुनै पनि संदिग्ध ब्यक्ति अथवा अन्य कुरा पनि ती तालिम प्राप्त कुकुरहरुले पत्ता लगाउने बाँके प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेबाट प्रहरी निरीक्षक ईश्वरदेब गिरीको कमान्डमा गएको डग हेन्डलर सहितको टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने सवारीसाधन, पैदल यात्रीहरुलाई संयुक्तरुपमा चेकजाँच गर्नेछ ।
चेकजाँचमा जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट, जयसपुर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकी, भन्सार सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक लिला बिक, जिल्ला प्रहरीबाट गएका प्रहरी सहायक निरीक्षक रविन्द्र बम लगायत अन्य प्रहरी कर्मचारीहरु खटिएका छन् ।