arrow

तीन पटक पोखरालाई हराएर च्याम्पियन बन्यो चितवन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
epl-winner-chitwan-2021.jpg

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । चितवनले पोखरालाई एउटै प्रतियोगितामा तीन पटक हराएर उपाधि जितेको हो । 

६ फ्रेन्चाइज टोलीको सहभागीतामा सम्पन्न प्रतियोगिताको लिग चरणमा ९ विकेटको, पहिलो क्वालिफायरमा ९ विकेटको र फाइनलमा ४ विकेटको जित सहित चितवनले पोखरालाई हराएर पहिलो उपाधि जितेको हो । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले रु १५ लाख पायो ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई  छक्का प्रहार गरे ।

यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा नटआउट रहे । पोखराका किशोर महतोले ४ विकेट लिए भने नन्दन यादवले २ विकेट झारे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे ।

विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा नटआउट रहे । त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । 

पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।

व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उनले प्रतियोगितामा १४ विकेट लिए । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । 

त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही रु  ५१ हजार प्राप्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ