ललितपुरको विशंखुनारायणमा धार्मिक तथा पर्यापर्यटन हरियाली पार्क निर्माण
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
1.4k
Shares
काठमाडौं । काठमाडौं उपत्यकाका चार नारायण मध्ये धार्मिक रुपमा महत्वपूर्ण रहेको ललितपुर गोदावरी नगरपालिका–२ को बिशंखुनारायण क्षेत्रमा आकर्षक पार्क निर्माण गरिएको छ ।
डिभिजन बन कार्यालय, ललितपुर र गोदावरी नगरपालिकाको सहयोगमा बिशंखुनारायण वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्रभित्र ‘विशंखुनारायण धार्मिक तथा पर्यापर्यटन हरियाली पार्क’ निर्माण गरी संचालनमा ल्याएको उक्त सामुदायिक वनका अध्यक्ष कमलबहादुर विष्टले जानकारी दिए ।
विष्टका अनुसार उक्त पार्क क्षेत्रमा रमाउन आउने पर्यटकहरुका लागि सहज होस भनेर विशंखुनारायण पर्यापर्यटन भान्साघर पनि शनिबारबाट संचालनमा ल्याइएको छ ।
उक्त पार्कमा रुखबाट अर्को रुपमा डोरीका माध्यमबाट जान सकिने साहसिक खेल, जिपलाइन, चिप्लेटी संचालनमा ल्याइएको छ । जैविक विविधताको संरक्षण तथा जडिबुटीको प्रवद्र्धनका लागि वन समूहले अन्य कार्यक्रमहरु पनि संचालन गरिरहेको अध्यक्ष विष्टले जानकारी दिए ।
समूहले वन क्षेत्रभित्र चराचुरुङ्गी तथा जंगली जनावरका लागि पक्की पोखरी र प्लास्टिक पोखरी निर्माण गरिसकेको छ । उक्त पार्कमा पर्यटकहरुको संख्या बढेको खण्डमा अन्य सुविधान विस्तार गर्ने विष्टले बताए ।