अन्नपूर्ण बेसक्याम्प र घोरेपानी पदयात्रा : खर्च र समय कति ?
युवराज गौतम
प्रकाशित २०७८ असोज २६ मंगलबार
1.7k
Shares
काठमाडौं । विदेशी मात्र होइन स्वदेशी पर्यटकहरुका लागि अन्नपूर्ण बेसक्याम्प र घोरेपानीसम्मको पदयात्रा(ट्रेकिङ) रोजाइमा पर्छ ।चाडपर्वको फुर्सदमा घुमफिर गर्न रुचाउनेहरुले अन्नपूर्ण र घोरेपानी तथा पुनहीलसम्मको यात्रालाई आफ्नो समय छुट्टाउने गरेका छन् ।
किनकी अन्नपूर्ण ट्रेकिङ विश्वकै लागि प्रख्यात गन्तब्य हो । काठमाडौं कपनमा रहेको पायोनियर एडभेन्चर प्रालिका प्रमुख पासाङ शेर्पा सगरमाथा आधार शिविरपछि नेपालीहरुको दोस्रो रोजाइमा अन्नपूर्ण पर्ने गरेको बताउँछन् । ‘अशोज-कार्तिकको मौसम र चाडपर्वको फुर्सदलाई सदुपयोग गर्न नेपालीहरुले अन्नपूर्णलाई पहिलो प्राथमिकतामा राख्छन्,’ शेर्पा भन्छन्,‘विशेषगरी युवा तथा विद्यार्थीहरु, विभिन्न कर्पोरेट हाउसमा काम गर्ने कर्मचारी साथै सरकारी सेवामा रहेका कर्मचारीहरुले प्याकेज बुझ्ने गरेका छन् ।’
त्यस्तै विदेशी पर्यटकहरुको हकमा सरकारले क्वारेन्टाइनको व्यवस्था हटाएकाले सहज भएको र ट्रेकिङका लागि बुकिङ गर्नेहरुको संख्या बढेको बताउँछन् । शेर्पाका अनुसार अन्नपूर्ण बेसक्याम्पसम्म पुग्नका लागि फरक फरक रुटहरु रहेकाले सोही अनुसारको प्याकेज तयार गर्ने गरिन्छ । मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दीलगायत जिल्लालाई समेटेर निर्माण गरिएको अन्नपूर्ण ट्रेकिङ रुट विश्वकै उत्कृष्टमा गणनामा पर्ने भएकाले अन्नपूर्ण राउण्ड, अन्नपूर्ण सर्ट सर्किट र अन्नपूर्ण बेसक्याम्पलगायतका रुटहरु पर्यटकहरुको रोजाइमा पर्ने गरेको शेर्पाले जानकारी दिए ।
फुसफुसी उडिरहने हिउँ, भीर, पाखा-पहरा, ताल, झरना र कलकल बग्ने खोलाको दृश्यहरुमा रमाउँदै अन्नपूर्णको यात्रा गर्न सकिन्छ । बेसीसहरबाट सुरु हुने अन्नपूर्ण राउण्ड रुट सबभन्दा रोमाञ्चक मानिन्छ । बेसीसहरबाट, बाहुनडाँडा, बुलबुले, ताल, चामे, मनाङ, पिसाङ हुँदै थोराङलासहित मुक्तीनाथको यात्रा करिब नौं दिनको हुन्छ । यसबाहेक अन्नपूर्णका अन्य रुटहरु पनि छन् । उपल्लो मुस्ताङ, मनास्लुलगायतको अन्य रुटहरु पनि यही पेरिफेरीमा पर्छन् ।
प्याकेज (अन्नपूर्ण बेसक्याम्प)
पहिलो दिन : काठमाडौंबाट नयाँपुल नौं घण्टाको बस यात्रा ।
दोस्रो दिन : नयाँपुलबाट ६ घण्टाको यात्रा गरेर क्यूमी अथवा हिमालपानी अथवा पुगेर बास बस्ने ।
तेस्रो दिन : क्यूमीबाट लगभग ६ घण्टा हिडेर छोमोरुङ हुँदै बेम्बो पुगेर बास बस्ने ।
चौथो दिन : बेम्बोबाट दोभानहुँदै ६ घण्टाको यात्रा गरेर माछापुच्छ्रे बेसक्याम्पमा बास । यो लगभग ३८ सय सय मिटरको उचाइमा छ ।
पाँचौं दिन : माछापुच्छ्रे बेसक्याम्पबाट एबिसीसम्म हाइकिङ गरेर करिब तीन घण्टाको यात्रा गर्ने ।
छैटौं दिन : ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प हुँदै आठघण्टाको यात्रा गरेर देउरालीहुँदै बेम्बो पुगेर बास बस्न सकिन्छ ।
सातौं दिन : बेम्बोबाट ६ घण्टाको यात्रा गरेर हिमाल पानी(न्यू ब्रिज) अथवा क्यूमीमा बास बस्न सकिन्छ ।
आठौं दिन : क्यूमीदेखि नयाँपुल (बिरेठाँटी) ५ घण्टाको यात्रा गरेर बास बस्न सकिन्छ ।
नवौं दिन : विरेठाँटीबाट सोझै पोखरा वा काठमाडौं फर्कन सकिन्छ ।
खर्च : २५ हजार देखि ३० हजारसम्म । रुट अनुसार खर्च घटबढ हुनसक्छ । गाइड र भरिया अनुसार खर्चमा तलमाथि हुनसक्छ ।
अन्नपूर्ण सेन्चुरी : काठमाडौंबाट बेसीसहर हुँदै अर्को पनि यात्रा तय गर्न सकिन्छ । बेसीसहरबाट बुलबुले हुँदै चामेको रुट पनि रमाइलो छ । मनाङ, खर्क, थोराङपास, मुक्तीनाथ, जोमसोम हुँदै पोखरासम्मको रुट पनि करिब १२ दिनमा पुरा गर्न सकिन्छ । अन्नपूर्ण सर्ट सर्किटका लागि ३ रात ५ दिनको प्याकेजहरु पनि तयार छन् ।
घोरेपानी पुनहिल
हरियाली जंगलको बीचमा रहेको घोरेपानी धेरै नेपालीको रोजाइमा पर्ने ट्रेकिङ गन्तब्यहो । पुनहिलको टावरसम्म पुगेर रमाउन यो भरपर्दो गन्तब्य हो । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो स्थान समुन्द्री सतहदेखि तीनहजार २१० मिटर उचाइमा रहेको छ ।
कतिपय कम्पनीहरुले नेपालीलाई लक्षित गरी घोरेपानीका ट्रेकिङका लागि आकर्षक प्याकेज तयार गरेर प्रचार पनि गरिरहेका छन् । पायोनियर एडभेन्चर प्रालिका प्रमुख शेर्पा पुनहिलको यात्राका लागि बेग्लै प्याकेज बनाएर पर्यटकहरुलाई सुविधा दिइरहेको बताउँछन् ।
शेर्पा भन्छन्,‘पछिल्ला बर्षहरुमा हाइकिङ र ट्रेकिङप्रति नेपालीहरुको आकर्षण ह्वात्तै बढेको छ । घुमघामका लागि नेपालीहरु खर्च गर्न इच्छुक देखिन्छन् । सोही अनुसारको हामीहरुले प्याकेज बनाएका छौं । स्वदेशी र विदेशीलाई लाग्ने खर्चको पनि सोही अनुसारको प्याकेज तयार छ ।’
पुन हिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमालको रेञ्जमा पर्ने झण्डै २० बढी हिम चुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । विशेषगरी कास्कीको बिरेठाँटी, उल्लरी, घोरेपानी, नयाँपुल, घान्द्रुक, म्याग्दीको नागी, महरे, फुलबारी, तातोपानी, घार र शिख हुँदै घोरेपानी पुग्न सकिने प्याकेजहरु व्यवसायीहरुले तयार गरेका छन् । तर धेरैजसो पर्यटकहरु पोखरादेखि नयाँपुल हुँदै स्याउली बजार, घोरेपानी, पुनहिल फेरि घोरेपानी हुँदै विरेठाँटी-नयाँपुलसम्मको रमाइलो यात्रामा पनि रमाउने गरेका छन् ।
प्याकेज
पहिलो दिन : नयाँपुल देखि तिखेढुङ्गासम्म ५ घण्टाको यात्रापछि होटलमा बास ।
दोस्रो दिन : तिखेढुङ्गा देखि घोरेपानीसम्म ६ घण्टाको यात्रा पछि होटलमा बास । यो क्षेत्र २६ सय ७५ मिटरको उचाइमा छ ।
तेस्रो दिन : पुनहील देखि टाडापानीसम्म सात घण्टाको यात्रापछि होटलमा बास ।
चौथो दिन : टाडापानी देखि घान्द्रुकसम्म चार घण्टाको यात्रा पछि होटलमा बास ।
पाँचौंदिन : घान्द्रुकबाट तीन घण्टाको यात्रा गरेर पुनःनयाँपुल त्यसपछि बस यात्रामार्फत पोखरा पुग्न सकिन्छ ।
खर्च : २० हजार देखि ३२ हजारसम्म ।
ट्रेकिङका चाहिने सामाग्री
–दैनिक अत्यावश्यक पर्ने सामाग्रीहरु राख्ने ब्यागप्याक, रुक स्याक, ड्राइ स्याकलगायतका लगेजहरु ।
–लाइटनेस र वाटरप्रुफज्याकेट, हाफपाइन्ट, चप्पल, ट्रेकिङ सुज, धेरै जोडी मोजा ।
–लेकनलाग्ने औषधी(डाइमक्स), जीवनजल, उभोमिन, प्राथमिक उपचारका सामाग्रीहरु र मास्क, स्यानीटाइजर ।
–युभी प्रोटेष्टवाला सनग्लास, सनस्क्रिन लोसन, ट्वालेट रोल, हेटलाइट, एयरफोन आदी ।
–ग्लोब्स, ह्याट्स, जंगल ह्याट्स, वाकिङ स्टिक, क्यामेरा, जुस, मिनरल वाटर आदी ।
जानकारी राख्नुपर्ने
–ट्रेकिङ जान लागेको स्थानको हावापानी, परिवेस, वातावरण, उचाइ, होटल र खानपिनको बारेमा बुझनुपर्छ ।
–बजेटको व्यवस्थापन राम्रो गर्नुपर्छ । जम्मालाग्ने न्यूनतम खर्चभन्दा केही बढी पैसा बोक्नुपर्छ ।
–जीवन विमा अनिबार्य रुपमा गर्नुपर्छ । ट्रेकिङ कम्पनीहरुको सहायता लिंदा राम्रो हुन्छ ।
–करिब २५ सय मिटर भन्दा पुगेपछि लेक लाग्ने सम्भावना भएकाले यसमा सचेत रहनुपर्छ ।
–यात्राका क्रममा दैनिक पानीको मात्रा बढाउनुपर्छ । झोल पदार्थयुक्त खानेखुरा धेरै सेवन गर्नुपर्छ तर
खानामा सन्तुलन राख्नुपर्छ ।
–आफ्नो शरीरको अवस्था कस्तो छ आफैंले विचार गर्नुपर्छ । विरामी हुनबाट आफैं जोगिनुपर्छ । लेकवा ‘हाई अल्टिच्यूड’ लाग्ने सम्भावना भएकाले विचार पुयाउनुपर्छ ।
–पैदल हिंडदा एकनाशले हिड्नुपर्छ । अलिक मोटोघाटो व्यक्तिले श्वासप्रश्वासलाई कन्ट्रोल गराउन
हिडाइलाई ब्यालेन्स गर्नुपर्छ ।
–बाटोमा होटल वारेष्टुरेन्ट अभाव हुनसक्ने भएकाले जंगफूडजन्य खानेकुरा बोक्नुपर्छ ।
–साथीहरुसँग सँगै टासिएर हिड्नु हुँदैन् । लाइनलागेर केहीग्याप राखेर हिड्नुपर्छ ।
–हिड्दा एकैदिन धेरै हिड्नु हुँदैन । सरदर दैनिक ६ देखि ८ घन्टा हिड्दा राम्रो हुन्छ ।