हवाईजहाज कुर्दाकुर्दै महिला प्रहरी सुत्केरी

प्रकाशित मिति : २०७३ श्रावण ६ बिहिबार
तस्बिर : वेव
दुनै (डोल्पा)। डोल्पामा यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन्।
 
सुरक्षित प्रसूति गराउन जिल्ला बाहिर जानलाई हवाईजहाज पर्खे पनि मौसम गडबडीका कारण पाँच दिनदेखि डोल्पामा उडान नभएपछि सुत्केरी भएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए।
 
सुत्केरी हुनेमा विमानस्थल सुरक्षामा खटिएकी महिला प्रहरी बाँके जिल्ला राप्तीपारिकी जुगेनी चौधरी र डोल्पा त्रिपुराकोट घर भई बाँके जिल्लामा बिहे गरेकी सीता थापा रहेको बताइएको छ।
 
थापालाई ३ गते सुरक्षित प्रसूति गर्न नेपालगन्ज लैजानका लागि विमानस्थल ल्याए पनि उडान नभएपछि फर्काइएको उनका श्रीमान्ले बताए । उनको ४ गते सुरक्षित प्रसूतिपछि छोरा जन्मिएको श्रीमान्ले बताए।
 
यदि स्वास्थ्य अवस्था गम्भीर भए प्लेन कुर्दै ज्यान जाने थियो, दुर्गम भनेको यस्तै हुँदोरैछ उनका श्रीमान्ले भने।
 
चौधरीले पनि नेपालगन्ज जानका लागि चार दिनदेखि हवाईजहाज पर्खिए पनि उडान नभएपछि बिहीबार डोल्पामै प्रसूति भएको बताइएको छ।
 
मौसम खराबीका कारण आज पनि डोल्पामा उडान हुन नसकेको विमानस्थलले जनाएको छ।
 
डोल्पामा यातायातको अभावमा हवाईजहाजको पर्खाइमा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी लोकेश खत्रीले बताए। रासस
नयाँ