arrow

सकिँदै बडादशैं 

बडादशैं सकिँदै, टीका लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमा मनाइँदै 

कोजाग्रत पूर्णिमाको व्रत बुधबार, कार्तिक स्नान र आकाश दीपदान पनि बुधबारै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
jamara.jpg

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि मंगलबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ । 

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि मंगलबारै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि मंगलबारदेखि समाप्त हुन्छ । मंगलबारै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । यस दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । 

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर मंगलबार दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । राति जुवा खेल्ने विधानसमेत रहेको प्रा डा गौतमले बताए । महालक्ष्मीसँगै मंगलबार हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कोजाग्रत पूर्णिमा मंगलबार परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । 

मंगलबार ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा मंगलबार परेकाले कोजाग्रत पूर्णिमा मंगलबारै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधबार परेको हो । कार्तिक स्नान र आकाश दीपदान पनि बुधबारदेखि नै शुरु हुने समितिले जनाएको छ ।

बडादशैंको अन्तिम दिन टीका तथा जमरासहित आशीर्वाद थाप्ने क्रम जारी नै रहेको छ । (राससको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ