arrow

विश्व कल्याणका लागि पशुपतिनाथमा ९ दिवसीय महायज्ञ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
siaeram.JPG

काठमाडौं । श्री सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि कार्तिक १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ हुने भएको छ । 

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो । समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो ।  

कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएको भन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको पनि विश्वास दिलाए । 

उनले महायज्ञले विश्वभर प्रकृतिमा भइरहेको प्रदुषण रोक्ने जिकिर गरे । मानव  निर्माण गर्ने भगवान ब्रह्मा र सम्हार गर्ने भगवान शंकरको पुजा गर्न आफुले महायज्ञको आयोजना गर्न लागेको उनको भनाई छ । महायज्ञले मानवमा आएको समस्यालाई हटाउने पनि उनले विश्वास व्यक्त गरे । उनले राम भगवानको नाम ५ मिनेट बसेर  जप्दा सबैको मनमा शान्ति हुने बताए । 

त्यस्तै, मूल समारोह समितिका उपाध्यक्ष कामेश्वर झाले विश्वभर कोरोना महामारीको अन्त्य गर्नलाई महायज्ञको आयोजना गरेको बताए । उपाध्यक्ष झाले कात्तिक ३ गते कलश यात्रा, ४ गते यज्ञ शुभारम्भ भएर कार्तिक १३ गतेसम्म महायज्ञ चलिरहने जानकारी दिए । 

अहिले चलिरहेको समयको उल्टो चक्रका कारण प्रकृतिलाई आपत् परेको भन्दै उनले कष्ट निवारणको लागि र विश्वमा फैलिएको महामारी र भविष्यमा हुनसक्ने घोर महाकालीको प्रलय निवारणको लागि चारै वेदका कथा श्रवणसहितको महायज्ञमा सहभागी बन्न सबैलाई आग्रह गरे । 

उनले हिन्दु धर्मालम्बी तथा अन्य सबैलाई परिवारको सदस्य, आफन्त, छर–छिमेक, नाता-गोतासहित सहभागी भई पुण्य कमाउन समेत अनुरोध गरेका छन् ।  पशुपति विकास कोषले आफुहरुलाई धेरै सहयोग गरेको उनको भनाई थियो । ९ दिनसम्म चल्ने महायज्ञको बारेमा प्रचारप्रसार गरेर सहयोग गरिदिन पनि उनले  मिडियासँग अपेक्षा राखेका छन् । 

त्यस्तै, सांस्कृतिक मण्डलका बदन मण्डलले कार्यक्रममा बोल्दै मानवको नाश हुनुमा रोगनै कारक भएको बताए । भगवान रामको तुलनामा अरु भगवान कोही नभएको उनको भनाई थियो । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रेवती अधिकारीले निकै सहयोग गरेको भन्दै प्रशंसासमेत गरेका छन् । 

उनले आफूहरुले आयोजना गर्न लागेको उक्त यज्ञ व्यक्तिगत नभई सामूहिक  भएको भन्दै विश्व शान्तिको लागि महोत्सवको आयोजना गर्न लागेको जनाए । अहिले ‘जे छांै, ती सबै राम नामको कमाल’ भएको उनको भनाई थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ