arrow

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
Lamjung-hamrakura.jpg.jpeg

लमजुङ । लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ । 

सोमबारदेखि परेको अविरल वर्षाले आज यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए । 

उनले भने, “नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ ।  खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ ।” खरखरे भिर, रामबजार, घोप्टेभिरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन् । विभिन्न ठाउँमा पहिराले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ । 

पानी निरन्तर परिरहेकाले अवरुद्ध सडक खुलाउन अप्ठयारो भएको छ । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा बाधा पुगेको छ भने आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन् । यसअघि असार १ गते आएको बाढीपहिराले दसैँअघि मात्रै सवारीसाधन सञ्चालनमा आएको थियो । 

सवारीसाधन सञ्चालनमा आएको हप्ता १० दिनमै पुन यस सडक अवरुद्ध हुँदा यात्रुहरु बढी मर्कामा परेका छन् । यस सडकमा वर्षेनी बर्खायाम र वर्षा भएका बेलामा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ