- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नामिबियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा रेकर्ड राखेको छ । नामिबियाले युएई र ओमानमा जारी विश्वकपमा पहिलो जित निकालेको छ । विश्वकपमा यो नै नामिबियाको रेकर्ड जित हो ।
यूएईको अबुधाबीमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नामिबियाले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १६५ रनको विजयी लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।
नामिबियाको जितमा डेविड विजले नटआउट रहँदै ४० बलमा ६६ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । प्लेयर अफ द म्याच उनले १ विकेटसमेत लिएका थिए ।
त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन बनाए । कमजोर बलिङ गरेको नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन, टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।
नेदरल्यान्ड्सको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो ।
ओपनर म्याक्स ओ’डोडले ५६ बलमा ७० रन बनाएका थिए ।
त्यस्तै कोलिन एकरमानले ३५ रन जोडे । नामिबियाका जान फ्राइलिंकले सर्वाधिक २ विकेट लिए ।
सुपर १२ समीकरण
जितसँगै नामिबियाले सुपर–१२ मा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा नामिबिया पराजित भएको थियो । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्यान्ड्स आयरल्यान्डसँग ७ विकेटले नै पराजित भएको थियो ।
लगातार दुई हारले नेदरल्यान्ड्सको सुपर–१२ मा पुग्ने सम्भावना सकिएको छ ।