- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अलराउन्डर शकिब अल हसनले लगातार दोस्रो खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेसँगै बंगलादेशलाई यूएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पुर्याउन सफल भएका छन् ।
ओमान क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जितसहित सुपर १२ मा स्थान सुरक्षित गरेको हो ।
बंगलादेशले दिएको १८२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । पीएनजीका किप्लिन डोरिगाले ३४ बलमा नटआउट रहँदै सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
पीएनजीलाई सस्तैमा समेट्न शकिबले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहमद सैफुदिन र ताक्सिन अहमेदले २–२ विकेट लिए ।
बंगलादेशको इनिङ्स
बंगलादेशले शुरुआत राम्रो गरेन । दोस्रो बलमै ओपनर मोहम्मद नाइम ० मा आउट भए । त्यसपछि शकिब र लिटन दास चम्के । शकिबले ३७ बलमा ४६ रन जोडे । लिटन २९ रनमा आउट भए ।
कप्तान महमुदुल्लाहले २८ बलमा ५० रन जोडे । मोहम्बद सैफुदिनले ६ बलमा नटआउट रहँदै १९ रन बनाए । योसँगै बंगलादेशले ७ विकेटको नोक्सानीमा १८१ रन बनायो ।
पीएनजीका डामिन राभु, काबुआ मोरिया र असाद भालाले २–२ विकेट लिए ।
समीकरण
जितसँगै बंगलादेशले सुपर १२ मा स्थान बनायो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको बंगलादेशले त्यसपछिका दुवै खेल जित्यो ।
बंगलादेशले यसअघि ओमानलाई हराएको थियो । उक्त खेलमा पनि शकिबले प्लेयर अफ द म्याचको अलराउन्ड भूमिका निभाएका थिए ।
समूह बी बाट स्कटल्याण्ड सबै ३ खेल जितेर ६ अंकसहित समूह विजेता बन्दै सुपर १२ मा पुगेको छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित उपविजेता बन्दै सुपर १२ मा पुगेको हो ।
२ अंकको ओमान र अंकविहीन पीएनजी बाहिरिएका छन् ।