arrow

टी–२० विश्वकपमा स्कटल्याण्डको फड्को, पहिलो पटक सुपर १२ मा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
t20-world-cup-scotland.jpg

काठमाडौं । स्कटल्याण्डले टी–२० विश्वकप क्रिकेटमा नयाँ फड्को मारेको छ । स्कटल्याण्ड पहिलो पटक यूएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर १२ मा पुगेको हो । ओमानले दिएको १२३ रनको सामान्य विजयी लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डलाई कीर्तिमानी जित दिलाउन कप्तान केली कोयट्जरले २८ बलमा ४१ रन बनाए । रिची बेरिङटनले नटआउट ३१ तथा म्याथ्यु क्रसले नटआउट २६ रन बनाए । ओमानका खावर अली र फायज बुटले १–१ विकेट लिए ।

ओमानको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।

स्कटल्याण्डका जोस डाभीले ३ विकेट लिए । साफ्यान शरिफ र माइकल लिस्कले २–२ विकेट लिए ।

समीकरण
जितसँगै स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेर सुपर १२ मा पुगेको छ । पहिलो पटक सुपर १२ मा पुगेको स्कटल्याण्ड अपराजित छ । 

त्यस्तै समूह बी बाट स्कटल्याण्ड समूह विजेता हुँदा बंगलादेश उपविजेता हुँदै सुपर १२ मा स्थान बनायो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको बंगलादेशले त्यसपछिका दुवै खेल जित्यो । 

बंगलादेशले यसअघि ओमानलाई हराएको थियो । उक्त खेलमा पनि शकिबले प्लेयर अफ द म्याचको अलराउन्ड भूमिका निभाएका थिए । 

२ अंकको ओमान र अंकविहीन पीएनजी बाहिरिएका छन् । 



नयाँ