arrow

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
IPO_SHare.jpg

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ