arrow

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
dilendra-prasad-badu-minister-congess.jpg
तस्बिर : रासस

महेन्द्रनगर। न्याय, कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठुलो क्षति व्यहोर्नु परेको बताएका छन्। नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको बताए। “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले भने, “योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापनामा सरकार लाग्छ।”

बाढी र पहिराबाट भएको क्षतिका कारण  पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै उनले भने, “देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मलहम लगाउँछौँ ।” फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली काँग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए। “मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,” उनले भने, “अहिले हाम्रासामु चुनौतीहरू पनि धेरै छन्।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले बाढी र पहिराको सबैभन्दा बढी मारमा सुदूरपश्चिम प्रदेश रहेको बताए। “हामीले पनि प्रधानमन्त्रीज्यूको टोलीसित बाढी र पहिरो पीडित क्षेत्रको स्थलगत अनुगमन गर्दा निकै दर्दनाक अवस्था छ,” नेता लेखकले भने, “तत्काल सरकारले राहतको व्यवस्था गर्नुपर्छ।”

किसानलाई राहत र घरबारविहीन भएकालाई छाक टार्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उनले बताए “यहाँ भएको क्षति प्रधानमन्त्रीले आफैँ हेरेर गएका छन्। तत्काल राहत ल्याउन सरकारले पहल गर्नेछ।”



नयाँ