एमसीसी खारेजीको लागि नेकपा माओवादी केन्द्रले आमसभा आयोजना गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
1.1k
Shares
काठमाडौँ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आगामी मङ्सिर ४ गते काठमाडौँमा हुने ‘एमसीसी सम्झौता खारेजी अभियान अन्तर्गतको आमसभा’ मा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीको यही कात्तिक ५ र ६ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले आमसभा गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले बैठकले ‘वैज्ञानिक समाजवाद स्थापनाको वर्तमान कार्यभार नामक राजनीतिक प्रस्ताव’ व्यापक छलफल गरी परिमार्जन सुझावसहित पारित गरिएको जानकारी दिए ।
उनले एमसीसी सम्झौता खारेजी अभियानलाई सहयोग गर्न मङ्सिर ४ गते पार्टीले आयोजना गर्ने आमसभामा सहभागी हुन सबैलाई आग्रह गरे । बुढाथोकीले भने,‘राजनीतिक जनपरामर्श सम्मेलन र कम्युनिस्ट सम्मेलन आयोजनाको दबाब सिर्जना गर्न विशाल आमसभा आयोजना गर्ने निर्णय गरेका छौ, सबै जना सहभागी भइदिनु होला ।’
उनले आमसभा सफल पार्न सम्पूर्ण जनसमुदाय, राजनीतिक पार्टीहरू, शक्तिहरू, पत्रकार नागरिक समाज, व्यवसायी, विभिन्न बौद्धिक व्यक्तित्वहरूमा आर्थिक, नैतिक, भौतिक सहयोगको समेत अपिल गरेका छन् ।
अध्यक्ष बुढाथोकीले आमसभाको तयारीको लागि आफ्नै नेतृत्वमा ४ सय ९१ मूल व्यवस्थापन समिति, केन्द्रीय सचिवालय र विभागहरू गठन गरेको समेत जानकारी दिए ।
उनले विस्तारित बैठकले पहिलो कम्युनिस्ट सम्मेलन आयोजनासम्बन्धी निर्णय गरेको पनि सुनाए । उनले माओवादी पार्टीहरूबिच पार्टी एकता र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिच संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको बताए ।