- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सोलुखुम्बु । जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बनेका शेर्पाको खोजीका लागि तीन जनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।
सोलुदूधकुण्ड-३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए । यही कात्तिक २ गते मङ्गलवार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उन बेपत्ता बनेका थियो । उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सात जनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।
एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीन जनासहित लुक्लामा रहेका एक गरी चार जनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् । उनीहरू आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
अन्य तीन जनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् । खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए ।
बेपत्ता बनेका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनका साथमा एक जना भाइ रहनुभएको छ । भाइको समेत गत वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ ।
छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ । गाइडका साथमा जानुभएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ ।