arrow

टी–२० विश्वकपः अफगानिस्तानको शानदार शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
t20-world-cup-afghanistan-2.jpg

काठमाडौं । अफगानिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा शानदार शुरूआत गरेको छ । यूएईको शारजाहमा सोमबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले आक्रामक शुरूआत गरेको हो । 

अफगानिस्तानले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो ।

स्कटल्याण्डका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेको इनिङ्समा ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन जोडे । क्रिस ग्रेभिसले १२ तथा कप्तान कायल कोट्जरले १० रन बनाए ।

पाँच खेलाडीले रनको खाता पनि खोल्न सकेनन् । अफगानिस्तानका मुजिब उर रहमान एक्लैले २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै राशिद खानले २.२ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । नवनि उल–हकले १ विकेट लिए ।

अफगानिस्तानको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४ विकेटको नोक्सानीमा १९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबुल्लाह जाड्रनले ३४ बलमा ५९ रन बनाए । 

रहमानउल्लाह गुर्बाजले ३७ बलमा ४६ तथा ओपनर हज्रातउल्लाह जाजईले ३० बलमा ४४ रन बनाए ।

मोहम्मद शाहजादले २२ रन जोड्दा कप्तान मोहम्मद नाबीले ४ बलमा नटआउट रहँदै ११ रन बनाए ।

कमजोर बलिङ गरेको स्कटल्याण्डका लागि सफ्यान शरिफले २ तथा जोस डेभी र मार्क वाटले १–१ विकेट लिए ।

अंक तालिका
अफगानिस्तान जितसँगै महत्वपूर्ण २ अंक बटुल्न सफल भएको छ । समूह २ मा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । 

भारतलाई १० विकेटले हराएको पाकिस्तान २ अंकबाट दोस्रो स्थानमा रहेको छ । यो समूहबाट भारत र स्कटल्याण्ड अंकविहीन छन् । टिम न्यूजिल्याण्डले भने अझै खेलेको छैन । छैटौं टिम नामिबियाले पनि खेलेको छैन । 



नयाँ