arrow

अन्तर्राष्ट्रिय खेलमा नेपाली खेलाडीले बिस्कुट खाएर गुजारा गर्नुपरेको सुनाएपछि भावुक बने मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
athak.JPG

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक मङ्गलवार भावुक देखिए । मन्त्री नियुक्त भएपछि आफूलाई भेट्न पहिलो पटक कार्यालय पुगेका अग्रज खेलाडीहरूसँगको छलफलका क्रममा मन्त्री अथक भावुक भएका हुन् । 

राष्ट्रका गहनाका रूपमा हेरिने खेलाडीहरूलाई राज्यले उपेक्षा गरेको भन्दै अग्रज खेलाडीहरूले गुनासो गरी रहँदा मन्त्री अथक भावुक देखिएका हुन् । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका अग्रज खेलाडीहरू वैकुण्ठ मानन्धर, हरि रोका, दीपक विष्ट, सँगिना वैद्य लगायतले खेलाडीहरूको मनोबल बढ्ने गरी सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरू अझै पनि न्यून सेवा सुविधामै चित्त बुझाउनुपर्ने अवस्थामा रहेको भन्दै उनीहरूले गुनासो गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न विदेशी भूमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफूसँग रहेको अग्रज खेलाडी वैकुण्ठ मानन्धरले बताए । आफ्नो ऊर्जावान् समय राष्ट्रका लागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जीवन धान्न सक्ने अवस्था नरहेको बताए । 

खेलाडीहरूको गुनासो सुनिसकेपछि मन्त्री अथकले आफू निकै भावुक भएको बताउँदै नेपाली खेल क्षेत्रको समग्र विकासकालागि नयाँ ढङ्गको सङ्घर्ष आवश्यक रहेको उल्लेख गरे । समग्र नेपाली युवा तथा खेलाडीहरूको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको समेत बताए । 

साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरूलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारकाको व्यवस्था मिलाएको बताउँदै मन्त्री अथकले खेलाडीहरूको हौसला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। 



नयाँ