- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले शान राखेको छ । सुपर १२ को पहिलो खेलमै जित निकाल्दै नामिबियाले रेकर्ड बनाउन सफल भएको हो । नामिबियाले स्कटल्याण्डलाई पराजित गरेको हो ।
यूएईको अबुधाबीमा बुधबार राति भएको खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । यो जितले नामिबियाले आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।
नामिबिया पहिलो पटक सुपर १२ मा प्रवेश गरेको थियो । हारपछि स्कटल्याण्डको सेमिफाइनल प्रवेश गर्ने आशाको ढोका लगभग बन्द भएको छ । यसपछि स्कटल्याण्डले दाबेदार टिमहरुसँग भिड्नु पर्नेछ ।
पहिलो खेलमा स्कटल्याण्ड अफगानिस्तानसँग पराजित भएको हो भने नामिबियाले पहिलो खेल खेलेको हो ।
नामिबियाको इनिङ्स
स्कटल्याण्डले दिएको ११० रनको विजयी लक्ष्य नामिबियाले १९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो ।
नामिबियाको जितमा जेजे स्मिथले नटआउट रहँदै २३ बलमा ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे ।
स्कटल्याण्डका माइकल लास्कले २ तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १–१ विकेट लिए ।
स्कटल्याण्डको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ८ विकेटको नोक्सानीमा १०९ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि माइकल लास्कले २७ बलमा ४४ रन जोडेसँगै सम्मानित योगफल बनाउन सफल भएको हो ।
क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाए ।
शुरुआत भने स्कटल्याण्डले निकै खराब गरेको थियो । पहिलो ओभरमै स्कटल्याण्डले ३ विकेट गुमाएको थियो ।
नामिबियाका रुबेन ट्रम्पेलमानले पहिलो ओभरमै ३ विकेट लिए । उनले पहिलो बलमै, तेस्रो बलमा र चौथो बलमा विकेट लिएका हुन् । त्यसपछि भने उनले विकेट लिन सकेनन् ।
त्यस्तै जान फ्राईलिंकले २ विकेट लिए । जेजे स्मित र डाभिड वाइसीले १–१ विकेट लिए ।
अंक तालिका
यो जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको स्कटल्याण्ड अंकविहीन छ ।
नामिबिया तेस्रो स्थानमा रहँदा स्कटल्याण्ड पुछारमा छ । त्यस्तै २ खेलबाट ४ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान १ खेलबाट २ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
न्यूजिल्याण्ड र भारत अंकविहीन हुँदै चौथो र पाँचौं स्थानमा रहेका छन् ।
समूह १ को अंक तालिका
यो खेलपछि २ खेलबाट ४ अंकसहित इङ्गल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानको श्रीलंका, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान २ अंक छ । बंगलादेश र वेष्ट इन्डिज अंकविहीन छन् ।