arrow

टी–२० विश्वकपः श्रीलंकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनल नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
t20-world-cup-australia494.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जितसहित अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ । यूएईको दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई पराजित गर्दै अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको हो । 

अष्ट्रेलिया ७ विकेटले विजयी भयो । श्रीलंकाले दिएको १५५ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १७.३ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।

अष्ट्रेलियालाई जित दिलाउन ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रन बनाए । कप्तान आरोन फिन्चले २३ बलमा ३७ रन जोडे । स्टेभन  स्मिथ २६ बलमा २८ रन बनाएर नटआउट रहे । 

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।

श्रीलंकाको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको नोक्सानीमा १५४ रन बनाएको थियो । कुशल परेराले २५ बलमा तथा चारिथ असलंकाले २७ दलमा समान ३५ रन बनाए ।

यस्तै भानुका राजपाक्षे ३३ रनमा नटआउट रहे । अष्ट्रेलियाका मिचेल मार्श, पाट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले तथा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले नै हराएको थियो ।  

अंक तालिका
यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ । समूह १ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।

२ खेलबाट ४ अंकसहित इङ्गल्याण्ड शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिका २ अंकसहित तेस्रो तथा श्रीलंका २ अंकसहित चौथो स्थानमा छ । 

दुवै खेल हारेका बंगलादेश र वेष्ट इन्डिज पुछारमा छन् । 



नयाँ