arrow

निरीह अष्ट्रेलियामाथि इङ्गल्याण्डको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
t20-world-cup-england-20218.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्ड सबैभन्दा सशक्त टिम बनेको छ । इङ्गल्याण्डले अष्ट्रेलियामाथि कीर्तिमानी जितसहित लगातार तेस्रो जित निकालेको छ ।

यूएईको दुबईमा शनिबार राति भएको खेलमा इङ्गल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले हरायो । अष्ट्रेलियाले दिएको १२६ रनको सामान्य विजयी लक्ष्य इङ्गल्याण्डले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।

टी–२० मा यो अष्ट्रेलिया विरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । कम ओभरमै इङ्गल्याण्डले अष्ट्रेलियालाई हराएको थिएन । 

जोस बट्लरले नटआउट रहँदै ७१ रन बनाए । उनले ३२ बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए । 

जासन रोयले २२ रन जोड्दा जोनी बेयर्सटो ११ बलमा नटआउट रहँदै १६ रन बनाउन सफल भए । अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट लिए ।

अष्ट्रेलियाको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो । कप्तान आरोन फिन्चले ४९ बलमा ४४ रन बनाए । 

एस्टन अगरले २० तथा म्याथ्यु वेडले १८ रन जोडे । क्रिस जोर्डनले ३ तथा क्रिस वोक्स र ट्यामल मिल्सले २–२ विकेट लिए । आदील राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

अंक तालिका
जितसँगै सेमिफाइनल नजिक पुगेको इङ्गल्याण्डले समूह १ बाट ३ खेलमा ६ अंक जोडेको छ ।  शीर्ष स्थानको इङ्गल्याण्ड सबैभन्दा सशक्त देखिएको छ । 

समूहमा ३ खेलमा ४ अंकको दक्षिण अफ्रिका दोस्रो स्थानमा पुगेको छ । 

अष्ट्रेलिया ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । श्रीलंका ३ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । 

पाँचौं वेष्ट इन्डिजको पनि २ अंक छ । अंकविहीन पुछारको बंगलादेश लगातार ३ हारसहित बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ