arrow

टी–२० विश्वकपमा अफगानिस्तानको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
t20-world-cup-afghanistan-2.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको छ । अफगानिस्तानले सुपर १२ मा दुई जित हासिल गरिसकेको छ । 

अफगानिस्तानले आइतबार यूएईको अबुधाबीमा भएको खेलमा नामिबियालाई ६२ रनले पराजित गरेको छ । खेलमा १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले ९ विकेटको नोक्सानीमा ९८ रनमात्र जोड्न सक्यो ।

नामिबियाका लागि डेभिड वाइजेले सर्वाधिक २६ रन बनाए । नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका हमिद हसन र नविन उल हकले समान ३–३ विकेट लिए । गुलबदिन नइवले २ राशिद खानले १ विकेट लिए । 

अफगानिस्तानको इनिङ्स
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १६० रन बनाएको थियो । मोहम्मद सहजादले ३३ बलमा ४५, हजरातुल्लाह जजाईले २७ बलमा ३३ रन बनाए । 

कप्तान मोहम्मद नाबीले आक्रामक खेल्दै १७ बलमा नटआउट रहँदै ३२ रन बनाए । त्यस्तै र अस्घर अफगानले ३१ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलमान र जान निकोल लोफ्टी–इटनले २–२ विकेट लिए ।

समीकरण
यससँगै अफगानिस्तानले तीन खेलमा दुई जित हात पारेको छ । अफगानिस्तानले यसअघि स्कटल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । 

नामिबियाको यो पहिलो हार हो । यसअघि नामिबियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।

अंक तालिका
अहिलेसम्म समूह २ को खेलमा पाकिस्तान ३ खेलबाट ६ अंकसहित पहिलो, ३ खेलबाट ४ अंकसहित दोस्रो तथा न्यूजिल्याण्ड २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 

नामिबिया २ खेलबाट २ अंकसहित चौथो, भारत २ खेलबाट अंकविहीन हुँदै पाँचौं तथा २ खेलबाट अंकविहीन स्कटल्याण्ड पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ