माओवादीलाई कमजोर बनाउन प्रतिक्रियावादी लागि परे : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
702
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी प्रतिक्रियावादी माओवादीलाई कमजोर बनाउन लागि परेको बताएका छन् । मुलुक र जनतालाई अधिकार सम्पन्न बनाएको देशी विदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उनले उनीहरू अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताए ।
“माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त गर्यौँ”, उनले भने ।
माओवादीले पहिचानको मुद्दा नछाडेको उनले बताए। “पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ”, उनले भने ।
देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताए ।
“हामीले फेरि एक पटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाइछाड्ने सङ्कल्प गरेका छौँ”, उनले भने, “त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।”