arrow

विश्वकपको अभागी टिम दक्षिण अफ्रिका फेरि बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
t20-world-cup-sa-eng.jpg

काठमाडौं । विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा अभागी टिम प्रमाणित भएको दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपबाट पनि बाहिरिएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको हो । 

समूह चरणको अन्तिम खेलमा शनिबार राति भएको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको इङ्गल्याण्डमाथि १० रनको जित निकाले पनि नेट रनरेटमा पछि पर्दै दक्षिण अफ्रिका बाहिरिएको हो । 

समूह १ बाट इङ्गल्याण्ड समूह विजेता र अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूहको अन्तिम खेलमा पराजित भए पनि इङ्गल्याण्डलाई समूह विजेता बन्न कसैले रोकेन । 

समूहमा इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाले समान ८ अंक जोडे पनि नेट रन रेटमा अफ्रिकी टिम तेस्रो स्थानमा रह्यो ।

इङ्गल्याण्डको इनिङ्स
दक्षिण अफ्रिकाले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको इङ्गल्याण्डले ८ विकेटको नोक्सानीमा १७९ रनमात्र बनाउन सक्यो ।

मोइन अलीले सर्वाधिक २७ बलमा ३७ रन बनाए । डेविड मालानले ३३ रन बनाए । लियाम लिभिङस्टोनले २८ तथा जोस बटलरले २६ रन बनाए । 

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शम्सी र ड्वेन प्रिटोरियसले समान २–२ तथा एनरिक नार्टजेले १ विकेट लिए । 

दक्षिण अफ्रिकाको इनिङ्स
यसअघि पहिलो ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २ विकेटको नोक्सानीमा १८९ रन बनायो । रस्सी भान डेर डुसनले नटआउट रहँदै ९४ रन बनाए । उनले ६० बलमा ६ छक्का र ५ चौका हानेका थिए । एडेन मार्करामले २५ बलमा नटआउट रहँदै ५२ रन जोडे । 

क्विनटन डी ककले २७ बलमा ३४ रन बनाउँदा ओपनर रिजा हेन्डरिक्सले ८ बलमा २ रनमात्र बनाएका थिए । 

इङ्ल्याण्डका आदिल रासिद र मोइन अलीले १–१ विकेट लिएका थिए । 

अंक तालिका
यो समूहको खेल सकिँदा इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८–८ अंक हुँदा श्रीलंकाको ४, वेष्ट इन्डिजको २ तथा बंगलादेश अंकविहीन रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ