नक्कली काँग्रेसको पेज बनाएर उपसभापतिको चरित्र हत्या गर्न खोजेको आरोप
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
963
Shares
बैतडी । नेपाली काँग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली काँग्रेस बैतडीले आपत्ति जनाएको छ ।
उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुर बहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहेका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका ब्यहोरा पोस्ट भइरहेकाले कारबाहीको माग गरिएको हो ।
केही महिनायता अनधिकृत रूपमा फेसबुक आइडी बनाएर काँग्रेस नेताको चरित्र हत्या गर्न खोजिएको भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।
अनधिकृत रूपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारबाहीका लागि सम्बन्धित निकायसँग नेपाली काँग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी महाधिवेशनका लागि उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ ।
सभापतिका उम्मेदवार रहेका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उनी विरुद्ध अनधिकृत रूपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ ।