arrow

जितसहित सकियो कोहली–शास्त्री युग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
ravi-shastri-india-coach.JPG

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई पराजित गरेको छ । दुबईमा भएको खेलमा भारत ९ विकेटले विजयी भएको हो । योसँगै भारतले जारी विश्वकप समूह चरणबाटै सकाएको छ । 

यो समूहबाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्दा पूर्व विजेता भारत भने समूह चरणबाटै बाहिरिएको छ । त्यसैगरी कप्तान विराट कोहली र मुख्य प्रशिक्षक रवि शास्त्रीको युग पनि सकिएको छ । 

दुवैका लागि यो नै अन्तिम खेल थियो । शास्त्री मुख्य प्रशिक्षकबाट बाहिरिएका छन् । उनलाई राहुल द्रविडले विस्थापित गरेका हुन् भने कोहलीले कप्तानी छाडेका छन् । 

अब उनी खेलाडीका रुपमा मात्र हुनेछन् । कोहलीले टी–२० मा ५० खेलमा कप्तानी गरे । जसमा ३० खेल भारतले जित्यो भने १६ खेल हार्यो । २ खेल नतिजाविहीन र २ खेल टाइ भयो । 

त्यस्तै रवि शास्त्रीले ४३ टेष्टमा २५ जित, ७६ एक दिवसीयमा ५१ जित तथा ६५ टी–२० मा ४३ जित निकाले । शास्त्री सन् २०१७ देखि मुख्य प्रशिक्षक थिए । 

भारतको इनिङ्स
१३३ रनको विजयी लक्ष्य भारतले १ विकेटको नोक्सानीमा १५.२ ओभरमा पूरा गर्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । उनले ३७ बलको सामना गरे । 

उनले टी–२० मा तीन हजार रन पूरा गरेका छन् । उनी तीन हजार रन पूरा गर्ने भारतका दोस्रो तथा विश्वकै तेस्रो खेलाडी हुन् । 

तीन वटै फर्मेटको क्रिकेटमा तीन हजार रन पूरा गर्ने यसअघि भारतका विराट कोहली एकमात्र खेलाडी थिए । 

न्यूजिल्याण्डका मार्टिन गुप्टिलले टी–२० मा ३ हजार २२७ रन बनाएका छन् । कोहलीले ३ हजार ११५ तथा रोहितले ३ हजार ३८ रन बनाएका छन् । 
लोकेश राहुलले ३६ बलमा नटआउट रहँदै ५४ रन बनाए । सूर्यकुमार यादव १९ बलमा २५ रन बनाएर नटआउट रहे । 

नामिवियाका जान फ्राइलिङले १ विकेट हात पारे ।

नामिबियाको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले ८ विकेटको नोक्सानीमा १३२ रन जोडेको थियो ।

डेभिड वाइसीले २५ बलमा सर्वाधिक २६ रन बनाए । स्टेफन बार्डले २१ रन जोडे । जान फ्राइलिंकले नटआउट रहँदै १५ बलमा १५ रन बनाए । रुबेन ट्रमपेल्मानले ६ बलमा नटआउट रहँदै १३ रन बनाए । 

भारतका प्लेयर अफ द म्याच रविन्द्र जडेजाले १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले २० रन खचेएर ३ विकेट लिए । 

जसप्रित बुमराहले २ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ