arrow

काँग्रेससँग श्रमिकले मागेर होइन लडेर जिम्मेवारी लिने हो : लक्ष्मण बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
trade-union-congress-kartik-2078.jpg

विराटनगर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा मोरङ जिल्लामा अब हुने प्रदेश क्षेत्र, सङ्घीय क्षेत्र र जिल्ला अधिवेशनका लागि ट्रेड युनियन आबद्ध श्रमजीवीहरूले विभिन्न पदमा ऐक्यबद्ध भई उम्मेदवारी घोषणा गरेका छन्।

विराटनगरमा शुक्रवार आयोजित १४ औँ महाधिवेशनमा श्रमजीवीहरूको भूमिका कार्यक्रममा सार्क टुकका महासचिव एवं ट्रेड युनियनका पूर्व अध्यक्ष तथा श्रमिक नेता लक्ष्मणबहादुर बस्नेतले सामाजिक न्यायका लागि ट्रेड युनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थिति हुँदा श्रमजीवीको हक अधिकार सुनिश्चित रहनेमा जोड दिए।

महासचिव बस्नेतले श्रमजीवीको भविष्य निर्माणका लागि उम्मेदवारी आउनु सुखद भएको बताए। उनले अब काँग्रेससँग मागेर होइन सङ्घर्ष गरेर जिम्मेवारी लिने समय आएको बताए।

निर्वाचनमा सहभागी सबैलाई एक ढिक्का भएर एक अर्कालाई साथ दिन बस्नेतले आग्रह गरे। त्यसै गरी ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीको नीति निर्माण तथा योजनासम्म श्रमिकहरू पुग्नुपर्नेमा जोड दिए। सो गन्तव्यसम्म नपुग्दा पार्टीले ट्रेड युनियनकर्मीप्रति हेर्ने दृष्टिकोण फरक पारेको उनको भनाइ छ। 

विगतका निर्वाचनमा काँग्रेस मजदुर विरोधी भएर देखिने गरेको आरोप लगाउँदै उनले सत्तामा पुग्ने काँग्रेसले मजदुर पक्ष बन्न सक्नुपर्ने सुझाव दिए। संविधानको धारा ४२ अन्तर्गत ‘क’ मा रहेको सामाजिक न्यायको हकमा महिला, दलित, पिछडिएको वर्ग, श्रमिक, युवा, किसानको क्लस्टर रहेकोमा काँग्रेसलाई पटक पटक काँग्रेसको वैधानिक संरचनामा श्रमिक क्लस्टर राख्न भन्दा पनि नराखेकोमा उनले न्यायोचित नभएकोसमेत बताए।

कार्यक्रममा ट्रेड युनियनका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले नीति निर्माण तहसम्म आफूहरूको सहभागिता रहनुपर्नेमा जोड दिए। उनले विभिन्न संस्थालाई सङ्गठन गर्दै पार्टीलाई बलियो बनाउने भूमिकामा ट्रेड युनियनकर्मी उभिँदै आए पनि पार्टीले नीतिगत तहसम्म पुर्‍याउन कन्जुस्याइँ गर्ने गरेको आरोप लगाए। 

त्यसै गरी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष अजय कुमार राईले पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए। राईले पार्टीको वैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएको हुँदा अब आफ्नो हक अधिकार मागेर नभई सङ्घर्षबाट लिनुपर्ने समय आएको बताए।

काँग्रेसको चौधौँ महाधिवेशन श्रमिकमैत्री बनाउन अहिले देशभर ट्रेड युनियन काँग्रेस परिचालित भएर कम्तीमा एक हजार महाधिवेशन प्रतिनिधि श्रमिक ल्याउन ट्रेड युनियन काँग्रेस क्रियाशील रहेको राईले बताए।

मोरङबाट प्रतिनिधित्व गर्ने ट्रेड युनियनकर्मीहरूले मोरङ जिल्लामा मङ्सिर ३ देखि १० गतेसम्म हुने तीन तहको अधिवेशनमा २५ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।

जिल्ला सचिवको लागि दाबी गरेका ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइरालाले भेलामा ट्रेड युनियन काँग्रेस सम्बद्ध २५ जनाले उम्मेदवारीको आकाङ्क्षा राखेको जानकारी दिए।

अध्यक्ष कोइरालाको जिल्ला सचिवको उम्मेदवारीका लागि प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले प्रस्ताव गरेका थिए भने सो प्रस्तावमा पूर्व अध्यक्ष बस्नेत र वर्तमान अध्यक्ष पुष्कर आचार्यले समर्थन जनाएका थिए।

कार्यक्रममा ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष अजय कुमार राई, निवर्तमान कोषाध्यक्ष जनार्दन निरौला, नेपाली काँग्रेस विराटनगर महानगर अध्यक्ष दीपक चापागाईँ, ट्रेड युनियन प्रदेश १ महिला विभाग अध्यक्ष सुनिता घिमिरे, तरुण दल मोरङ अध्यक्ष प्रभाकर थापा, नेविसङ्घ पूर्व सह महामन्त्री कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो। मोरङमा नेपाल ट्रेड युनियन काँग्रेसले महिला सङ्घ, तरुण दल र ने‍विसङ्घसँग सहकार्य गर्दै आएको छ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका नव निर्वाचित सभापति र १९ वडाका वडा  सभापतिलाई सम्मानसँगै आगामी कार्यकालको लागि शुभकामना तथा बधाईसमेत दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ