लोकतन्त्रमा आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन : ट्रेड युनियन कांग्रेस
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
527
Shares
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारबाट भएको दमनको विरोध गरेको छ ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको कदम बर्बरतापूर्ण भएको जनाएका छन् ।
‘लोकतन्त्रमा विरोध कार्यक्रम वा आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस किसिमको बर्बरतापूर्ण दमन निन्दनीय रहेको छ र लोकतन्त्रमा शान्तिपूर्ण विरोध भनिएको कार्यक्रममा सरकारका तर्फबाट अत्याधिक बल प्रयोग गर्नु पनि दुखद् पक्ष हो’, विज्ञप्तिमा भनिएको छ ।
शान्ति सुरक्षा कायम गर्न पर्याप्त तयारी गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको पनि महासचिव राईले जनाएका छन् ।
‘गत फागुणमा तिनकुनेको घटनालाई लिएर पाठ सिक्न नसक्नु साथै सरकारको सुरक्षा संयन्त्रबाट सामान्य आकंलन गर्न नसक्नु सरकार र सम्बन्धित मन्त्रालयको कमजोरीको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ ।
घटनामा मृत्यु तथा घाइते भएकाहरुको उचित क्षतिपूर्तिको माग गर्दै तदारुकताका साथ निःशुल्क उपचारको प्रबन्ध गरिनु पर्ने र उचित मागलाई सबै राजनीतिक दलहरु ऐक्यबद्ध भएर गम्भीरतापूर्वक सम्बोधन गर्न वार्ताद्वारा टेबलको माध्यमबाट समाधानको बाटो पहिल्याउन सरकार समक्ष महासंघले अपिलसमेत गरेको छ ।
घटनाहरुप्रति उच्च स्तरीय न्यायिक छानविन गर्दै दोषीउपर दण्ड गर्ने प्रतिबद्धता पनि जनाउनुपर्ने भने देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरेर सबै राजनीतिक दलहरु एक ठाउँमा रहेर वर्तमान सरकारले मार्ग प्रशस्त गर्दै देशलाई निकास दिनु नै बुद्धिमतापूर्ण कार्य हुनेछ भन्नेमा पनि ट्रेड युनियन कांग्रेसले ठहर गरेको छ ।