arrow

उत्पादनमूलक अर्थतन्त्र निर्माण गरिन्छ : अर्थमन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Janardan Sharma.jpg

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘उद्योग खोल्न के सुविधा चाहिन्छ, त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य सङ्घले शुक्रवार आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘भन्सार छुट चाहियो कि, बिद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ 

उनले देशमा उत्पादित पाँच सय मेगावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दावी गरे ।

हालसम्म ४.७ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु दुःखको विषय भएको स्विकार्दै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी गराए । 

अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रवार नै २७ वटा वाणिज्य बैङ्कका कार्यकारी निर्देशकहरूसँग छलफल गरेको जानकारी दिँदै मन्त्री शर्माले केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गरे ।

पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टामा झार्नका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उनले भने, ‘बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्छ ।’

अर्थमन्त्री शर्माले कोभिडले पीडित व्यवसायीहरूको लागि घोषित पुनः कर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको जानकारी गराउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले बैङ्कहरूले नाफामुखी भएर लागु गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताए । 

पोखरा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गरे । 

उनले बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिड विरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले कोभिडको मारमा परेका व्यवसायीहरू १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गरे । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ