arrow

टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई, न्यूजिल्याण्ड अभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
t20-world-cup-winner-2021.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । योसँगै विश्वले टी–२० को नयाँ च्याम्पियन पाएको छ । एक दिवसीय विश्वकप पटक पटक जितेको अष्ट्रेलियाले टी–२० मा भने पहिलो पटक उपाधि जितेको हो । 

दोस्रो पटक फाइनलमा पुगेर अष्ट्रेलिया पहिलो पटक च्याम्पियन भएको हो । यूएईको दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो ।

एक दिवसीय र टी–२० को अभागी टिम न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख हुन पुगेको हो । पहिलो टेष्ट च्याम्पियनशिप भने न्यूजिल्याण्डले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । 

अष्ट्रेलिया–न्यूजिल्याण्ड फाइनल 
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्यूजिल्याण्डले दिएको १७३ रनको विजयी लक्ष्य पाएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो । 

अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द फाइनल मार्शले नटआउट हुँदै ७७ रन बनाए । उनले ५० बलमा ४ छक्का र ६ चौकाको मद्धतले उक्त योगफल बनाएका थिए । 

ओपनर वार्नरले ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेल १८ बलमा २८ रन बनाएर नटआउट रहे । कप्तान आरोन फिन्च भने ५ रनमा आउट भए । दुवै विकेट ट्रेन्ट बोल्टले लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको नोक्सानीमा १७२ रन बनाएको थियो । यो योगफल अहिलेसम्मको टी–२० विश्वकप फाइनलको उच्च योगफल थियो । 

तर जितका लागि यो पर्याप्त भएन । कप्तान केन विलियम्सनले कप्तानी इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् । 

विलियम्सनले ४८ बलमा ३ छक्का र १० चौकाको मद्धतले ८५ रन बनाए । ओपनर मार्टिन गुप्टिलले ३५ बलमा २८ रन जोड्दा ग्लेन फिलिप्सले १७ बलमा १८ रन बनाए । जेम्स निशमले नटआउट रहँदै १३ रन बनाए । 

अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिए ।

अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई तथा न्यूजिल्याण्डले सेमिफाइनलमा इङ्गल्याण्डलाई समान ५ विकेटले हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ