बाइडेनले भने 'युद्धमा जानु हुन्न', सीले 'पुरानो साथी' भन्दै गरे सम्बोधन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
558
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पहिलो आमनेसामने वार्ता सम्पन्न भएको छ । भर्चुअल तरिकाबाट विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्रका प्रमुख नेताबिच सोमबार वार्ता भएको हो ।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबिचको प्रतिस्पर्धा द्वन्द्वको अवस्थामा जान नहुने बताएका छन् ।
उनले भनेका छन्, 'चीन र संयुक्त राज्यका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी भनेको हाम्रो देश बिचको प्रतिस्पर्धा अभिप्रेरित वा अनपेक्षित तरिकाले द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो ।'
यस्तै चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई 'पुरानो साथी' भनेर सम्बोधन गर्दै दुवै देशले चुनौतीहरू समाधान गर्न सञ्चार र सहयोग बढाउनुपर्ने बताएका छन् ।
'विश्वका दुई ठुला अर्थतन्त्र र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य भएकाले चीन र संयुक्त राज्य अमेरिकाले सञ्चार र सहकार्य बढाउन आवश्यक छ,' वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले भने ।
ताइवान, व्यापार र मानवअधिकारको विषयलाई लिएर चीन र अमेरिका बिचको विवाद जारी छ । यस्तो बेला दुवै राष्ट्र प्रमुखहरूले वार्ता गरेका हुन् ।
वार्ताको सुरुमा बाइडेनले सीलाई 'यसरी अहिलेसम्म आफूहरू औपचारिक नभएको' टिप्पणी समेत गरेका थिए । यस्तै 'दुवै जनाले एक अर्कासँग सधैँ इमानदार र स्पष्ट रूपमा कुराकानी गरेको' समेत बाइडेनले वार्ताका क्रममा भनेको रोयटर्सले जनाएको छ ।
सीले वार्ताका क्रममा 'मानवताको विषय र अन्य धेरै चुनौतीहरूको सामना गर्नका लागि चीन र अमेरिकाले सञ्चार र सहयोग बढाउन आवश्यक रहेको' टिप्पणी गरेका छन् ।