arrow

विज्ञापन देखाउन १८ वर्ष मुनिकाको ब्राउजिङ डाटा सङ्कलन गर्छ फेसबुक र इन्स्टाग्राम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
facebook.jpeg

काठमाडौँ। फेसबुक र इन्स्टाग्राले १८ वर्ष मुनिका प्रयोगकर्ताको वेब ब्राउजिङ गतिविधि सङ्कलन गर्ने गरेको एक अध्ययनले देखाएको छ। बालबालिकाले हेरेका प्रत्येक वेबसाइट, सामानलगायतका डाटाहरू सङ्कलन गरेर त्यसपछि सोही अनुसारका विज्ञापन देखाउने गरेको पाइएको हो।

दुवै प्लेटफर्मको मुख्य कम्पनीले गत जुलाईमा अब, उमेर, स्थान र लिङ्गका आधारमा मात्रै विज्ञापन देखाउन मिल्ने घोषणा गरेको थियो। प्रयोगकर्ताले सर्च गरेका कुरा, भिजिट गरेका वेब पेज एवं हेरेका सामानलगायतका डाटाहरूको प्रयोग नगर्ने कम्पनीको भनाइ थियो।

यद्यपि, फेसबुक र इन्स्टाग्रामले कन्भर्जन एपीआई नामक सफ्टवेयरको प्रयोग गरेर किशोरकिशोरी हरूको वेब ब्राउजिङ डाटा समेत सङ्कलन गर्ने गरेको एक अनुसन्धानले देखाएको छ। बालबालिकालाई मार्केटिङका लागि लक्षित गरिरहेका ठुला टेक कम्पनीविरुद्ध अभियान चलाइरहेका ग्लोबल एक्सन प्लान, रिसेट अस्ट्रेलिया र फेयरप्ले गरेका अनुसन्धानले यस्तो देखाएको हो।

मुख्य कम्पनी मेटाले भने यसरी डाटा प्रयोग गरिरहेको अस्वीकार गरेको छ। तर, ४४ वटा विभिन्न वकालतवादी समूहले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई खुला पत्र लेख्दै यसरी डाटा सङ्कलन गरेर युवा प्रयोगकर्तामाथि सर्भिलेन्स एडर्भटाइजिङ नगर्न आग्रह गरेका छन्।

फेसबुकले कुन व्यक्तिलाई कस्तो विज्ञापन देखाउने भनेर ठुलो मात्रामा तथ्याङ्कहरू सङ्कलन गरिरहेको आरोप छ। अनुसन्धानका क्रममा तीन वटा नक्कली फेसबुक प्रयोगकर्ता बनाइएका थियो।

जसमा एक १३ वर्ष उमेर र दुई आईडीमा १६ वर्ष उमे राखिएको थियो। त्यसपछि फेसबुकले म्यासेन्जर, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन देखाउनका लागि ती प्रयोगकर्ताले हेरेका वेबसाइट, वेब पेजलगायतका सबै ब्राउजिङ तथ्याङ्क प्रयोग गरेको पाइएको हो।

यसबाहेक फेसबुकले अन्य ट्याबको डेटा जस्तै कुन कुरा खोजे, कुन सामान हेरे, कुन खरिद गर्न खोजे, कु बटनमा क्लिक गरेजस्ता थुप्रै डाटाहरू सङ्कलन गर्ने गरेको पाइएको छ।

यद्यपि, मेटाका प्रवक्ता जो ओसबोर्नले भने यो गलत भएको दाबी गरेका छन्। पछिल्लो समय डाटा सङ्कलन, बालबालिकाको मानसिक स्वास्थ्य, गोपनीयता सुरक्षालगायतका विषयलाई लिएर पछिल्लो समय फेसबुकको चर्को आलोचना भइरहेको छ।

केही अघि मात्रै फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस ह्युगेनले फेसबुकका आन्तरिक डकुमेन्टहरू सार्वजनिक गरेकी थिइन्। जसमा शारीरिक बनावटको विषयलाई लिएर इन्स्टाग्रामले किशोरीहरूलाई निराश बनाउने कुरा पाइएको थियो। यो विषयमा मेटा जानकार भएर समेत सुधारका लागि कुनै पहल नगरेको आरोप ह्युगेनले लगाएकी थिइन्।

फेसबुकका संस्थापक जुकरबर्गले भने यो कुरा अस्वीकार गरेका छन्। धेरैले फेसबुकले प्रयोगकर्ताको सुरक्षा, स्वास्थ्यलगायतको विषय भन्दा आफ्नो फाइदालाई मात्रै लक्षित गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

अहिले मुख्य कम्पनीका रूपमा स्थापना भएको मेटाले अब, नयाँ प्रविधि योजना मेटाभर्समा विशेष रूपमा काम गर्ने बताएको छ। भर्चुअल दुनियाँ मेटाभर्स अस्तित्वमा आयो भने यसको सकारात्मक पक्ष भन्दा बढी नकारात्मक पक्ष अहिलेका सामाजिक सञ्जाल भन्दा पनि बढी हानिकारक पनि हुनसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ