arrow

ग्रहका हिसाबले शासकवर्गमा मतभेद एवं वैमनस्य रहने, यस्तो हुनेछ समग्रमा मंसिर महिना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
astrology+horoscope+wheel.jpg.jpeg

२०७८ मङ्सिर महिना मासिकफल
मङ्सिर महिनाको सङ्क्रान्ति बुधवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा तुला लग्न, शुक्ल पक्षको त्रयोदश तिथि र मीन राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले मङ्सिर महिनाभरि वृश्चिक राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ । कुम्भ राशिमा मङ्गल, वृश्चिक राशिमा बुध र बृहस्पति, धनु राशिमा शनिश्चर, कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको भ्रमण हुनेछ । महिनाको पूर्ण अवधि बृहस्पतिसहितको बुधादित्य योग रहने छ।

यस्तो ग्रह परिवेशमा आम व्यक्तिमा के कस्तो प्रभाव पर्छ त ? त्यसको पनि आकलन गरौँ । सूर्यले बुधवारको बिहानै वृश्चिक राशिमा प्रवेश गरेकोजस्तो देखिए पनि सूर्योदय पूर्व नै भएकाले मङ्गलवारको प्रवेश मानिने छ । त्यसैले यो महिना सेतो पदार्थ र खास गरी विलासिताका सामग्रीहरू मोटर वाहन, गरगहना आदिको दाम बढ्ने छ । घिउ, तेल, रसादि वस्तु र नुनको मूल्य भने स्थिर रहने छ । शासक वर्गमा मतभेद एवं वैमनस्य रहने छ । शासन प्रणालीमा चित्त नबुझ्नाले कतैकतै जनतामा विद्रोहको मनस्थिति सिर्जना भई सङ्घर्षको परिस्थितिसमेत बन्नेछ । 

सूर्यले मङ्गल ग्रहको घरमा प्रवेश गरेको हुँदा कतैकतै अग्नि भय र दुर्घटनाजन्य घटना पनि हुन सक्छन् । शनिवार औँसी परेकाले पनि धेरै कुरामा सतर्क हुनुपर्दछ। सुतीजन्य र ऊनीका कपडाको दाम बढ्ने छ । उत्तरी भूभागमा हिमपात हुने र चिसोको प्रकोप बढ्न सक्छ र चिसो जन्य रोग व्याधि रुघा मर्की र ज्वरोका कारण सर्वसाधारणमा असर पर्नेछ । धार्मिक क्षेत्रमा मतभेद, बहस र विवादको परिस्थिति खडा हुनसक्छ ।

व्यापार र वाणिज्यतर्फ तेल, चिनी, सक्खर, रसिला चिजबिज, मेवा मिष्टान्न, प्लास्टिकका सामाग्री, रुवा, सुती, कपास आदिको मूल्यमा वृद्धि हुनेछ। आत्महत्यादि असामान्य मृत्युदरमा वृद्धि हुने सङ्केत छ । खाडी र मध्यपश्चिमका देशहरूमा हिंस्रक गतिविधि बढ्ने छ, साथै ती क्षेत्रको रोजगार बजारमा समेत मन्दी आउने सङ्केत छ । महिनाको ४, ६, ७, ८, ९, १३, १९, २२, २३, २४, २५ र २६ गते वर्षा बादलको योग रहेका दिन हुन् ।

अब मङ्सिर महिनाभरिमा विभिन्न राशिका व्यक्तिहरूमा के कस्तो असर पर्नेछ, त्यसको लेखाजोखा र यसको चर्चा क्रमशः मेषादि राशिबाट प्रारम्भ हुँदै छ।

राशिफल:

मेष: सूर्यले आठौँ घरमा प्रवेश गरेको छ । पहिलेदेखि नै अष्टम भावमा भाग्येश बृहस्पतिको समेत उपस्थिति छ, अचानक विविध समस्या देखा पर्न सक्छन् । जुवाजन्य क्रियाकलापबाट धन नाशको योग छ । तर राशि स्वामी मङ्गल लाभ स्थानमा रहेकाले केही राहत मिल्नेछ, मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहु प्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । आठौँ भावमा बुधादित्य योग रहेकाले वैदेशिक क्षेत्रबाट लाभ पाइने आशा गर्न सकिन्छ । यो महिना तपाईँले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुनेछन् । यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गतेको चन्द्रमासमेत अनिष्ट रहेकाले ती दिनमा तपाईँले बढी सतर्क रहनु बुद्धिमानी हुनेछ ।


वृष: मङ्सिर महिना सातौँ भावमा रहेको सूर्यको प्रभाव हुने महिना हो । त्यसैले यो सकारात्मक मान्न सकिँदैन । राशि स्वामी शुक्रले महिनाको उत्तरार्द्धमा छैटौँ भावमा प्रवेश गर्दै छ, त्यसैले महिनाको अन्तिम समय अझ कमजोर बन्नेछ । महिनाको प्रारम्भमा आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुन सक्छ । तर सूर्यको प्रभावले यो महिना तपाईँका लागि मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने समय भएकाले यो अवधि एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । २८ गते अष्टम भावमा रहेको शनिसमेत अस्ताउने हुँदा दुर्घटनाजन्य प्रकोप पनि देखिन सक्छ । यो महिना कुनै किसिमको विघ्न र जोखिम नआओस् भन्ने उद्देश्यले तपाईँले कुल र पितृको आराधना गर्ने वा हनुमान् चालिसाको नियमित पाठ गर्दा राम्रो हुन्छ । खास गरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईँका लागि अलि बढी अशुभ रहने छन् ।

मिथुन: छैटौँ भावमा बुधादित्य योग परेको छ, यसको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काढ्ने र कुरा काट्नेहरू आफैँ चुप लाग्नेछन् । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । पद प्रतिष्ठामा अभिवृद्धि हुनेछ र आम्दानीका मार्गहरू बढ्ने छन् । परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । तर लामो समयदेखि सातौँ भावमा शनिको उपस्थिति छ, अतः अरूले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । समग्रमा यो महिना सामान्यतया सबैले शुभ फल नै पाउने छन्, यद्यपि राशि स्वामी बुध ग्रह अस्त रहेकाले अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईँले दैनिक रूपमा गाईलाई खानेकुरा दिएको जाति हुन्छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा तपाईँका लागि हितकारी नहुने भएकाले सचेत हुनु आवश्यक छ ।


कर्कट: पञ्चम भावमा सूर्यको उपस्थिति भएकाले यो महिना मनमा ठुलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । धन स्थानको मालिक पनि सूर्य नै भएकाले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँ नयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । एउटा स्मरणीय यात्रा हुने सङ्केत पनि छ । तर तपाईँको राशिमै रहेको राहुले शुभ फल प्रदान गर्न कन्जुस्याइँ गरिरहेको छ, त्यसैले चाहिँदा नचाहिँदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । पञ्चमेश मङ्गल पनि अष्टम भावमा रहेकाले भ्रमका पछि कुद्नु राम्रो हुँदैन । हडबडी र शीघ्रताका कारण चोटपटकको सम्भावना हुनसक्छ । त्यसैले दुर्घटनाजन्य जोखिमको निवारणका लागि तपाईँले सिद्धि गणेशको पूजा आराधना गर्नु वा दैनिक रूपमा भगवती दुर्गाको सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नु उत्तम हुनेछ । विशेषतः यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईँको राशि स्वामी चन्द्रमा समेत अनिष्ट हुने हुँदा सतर्कता अपनाउनु राम्रो हुन्छ ।
 

सिंह: चतुर्थ भावमा राशि स्वामी सूर्यको प्रवेश भएकाले शुभ फलदायी समय देखिँदैन । यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । उता भाग्येश मङ्गलसमेत सप्तम भावमा रहेकाले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना देखिँदैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । तर चतुर्थ भावमै बसेको बृहस्पति अनुकूल नै छ, तर अस्त अवस्थामा रहेकाले त्यति भरपर्दो भने छैन । यो महिना नकारात्मक प्रभाव हाबी नहोस् भन्ने उद्देश्यले तपाईँले दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्ध जल वा गङ्गा जल राखी सूर्यलाई अर्घ्य दिँदा लाभ हुनेछ । खास गरी यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गतेको चन्द्रमा समेत अनिष्ट हुने भएकाले ती दिनमा अझ बढी सतर्कता अपनाएको जाति हुन्छ।

कन्या: मङ्सिर महिनामा तृतीय भावमा राशि स्वामी बुध, चतुर्थेश र कर्मेश बृहस्पति एवं सूर्यको उपस्थिति छ, त्यसैले यो महिना पारिवारिक जीवन सुखद रहनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । पेसागत र व्यावसायिक परिस्थितमा सुधार आउने छ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रु दमन गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा भने सावधान हुनु बेस हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । प्रकाशन वा एजेन्सी सम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । बुध ग्रह अस्त रहेकाले यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभ फलमा वृद्धि भइरहोस् भन्ने कामनाले तपाईँले कुनै एउटा आइतबारका दिन अन्धा श्रम, वृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नु राम्रो हुनेछ । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गतेको चन्द्रमासमेत अशुभ भएकाले सामान्य सचेतता अपनाउनु हितकारी हुनेछ।

तुला: दोस्रो भावको सूर्यको शुभ फल हुँदैन, उता राशि स्वामी शुक्र सुरुमा बाह्रौँ भावमा रहेकाले १३ गतेसम्म शुभ फल पाउन निक्कै मिहिनेत गर्नु पर्ने देखिन्छ । त्यसैले यस महिनाको पूर्वार्द्धमा शारीरिक तनाव र बोझलाई झेल्न सक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । तर महिनाको उत्तरार्द्धमा शुक्रको सकारात्मक फल भएकाले यसको प्रभावले प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । नयाँ नयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत पनि छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । सञ्चार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । समग्रतामा यो महिना शुभ फल प्राप्त गर्न तपाईँले हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु राम्रो हुनेछ । विशेष गरी यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको तपाईँका लागि चन्द्रमा प्रतिकूल हुने हुँदा उक्त दिनमा बढी सतर्कता अपनाउनु राम्रो हुन्छ ।

वृश्चिक: यो महिना तपाईँको राशिमा सूर्य, बुध र बृहस्पतिले भ्रमण गर्नेछन् । उता राशि स्वामी मङ्गल भने चतुर्थ भावमा रहने छ, सूर्यको प्रभावले धन सम्पत्ति र सुख सुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनु हुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । दोस्रो भावको शनिश्चर तथा चतुर्थ भावमा बसेको राशि स्वामी मङ्गलको प्रभावले यस अवधिमा घरायसी सुख सुविधा, अचल सम्पत्ति, वाहन सुख, स्त्री सुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिँदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि बेहोर्नु पर्ने हुन्छ । आकस्मिक धन हानिको सङ्केत पनि छ । यो महिना कुनै असुविधा नहोस् भन्ने उद्देश्यले शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालो मासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नु वा खान दिनु राम्रो हुनेछ । खास गरी यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईँका लागि अशुभ रहने छन् ।

धनु: यो महिना तपाईँको राशिबाट बाह्रौँ भावमा राशि स्वामी बृहस्पतिका साथमा सूर्यको उपस्थिति हुने भएकाले यस समयमाम क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनु पूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास गर्नेछन् । सरकार विरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक वातावरण सुमधुर हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्ने कोसिस गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ र सबै किसिमका जुवा तास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यो महिना शुभ फल प्राप्त गर्न दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु राम्रो हुन्छ । विशेषतः यो महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१ र २९ गते चन्द्रमासमेत अनिष्ट हुने हुँदा अलि बढी सतर्कता अपनाउनु राम्रो हुन्छ ।

मकर: राज्य स्थानमा रहेको सूर्य, बृहस्पति र भाग्येश बुधको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ, दाम्पत्य जीवन, घरायसी सुख, प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि यो समय श्रेष्ठ छ । तर दोस्रो भावको मङ्गल र बाह्रौँ भावमा रहेको शनिश्चरको प्रभावले आर्थिक पक्ष त्यति बलियो देखिँदैन । दोस्रो घरलाई वाणी पनि भनिन्छ, त्यसैले मुखलाई समेत नियन्त्रणमा राख्नु बेस हुनेछ । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷चोरी हुने सङ्केत पनि छ । उता व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेतता अपनाउनु पर्ने देखिन्छ । यद्यपि पञ्चमेश शुक्रको प्रभावले यस अवधिमा विपरीत परिस्थितिलाई सही ढङ्गले निवारण सकिन्छ । यो महिना अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईँले आफ्ना दाजुभाइ र बन्धु बान्धव जम्मा पारी गुलियो भोजन गराउनु राम्रो हुनेछ । खास गरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईँका लागि अशुभ रहने छन् ।

कुम्भ: कर्म क्षेत्रमा रहेको सूर्य, बुध र बृहस्पतिको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्म क्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । राशि स्वामी शनिश्चर लाभ स्थानमा रहेकाले नयाँ काम र उद्यम सुरु हुने सम्भावना छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ । समग्रतामा यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । तर राशिमा बसेको मङ्गल ग्रहको फल सकारात्मक हुँदैन, त्यसैले यो महिना शुभ फल प्राप्त होस् भन्ने उद्देश्यले तपाईँले मङ्गल ग्रहको उपासना गर्नु राम्रो हुन्छ । विशेषतः गोचरमा ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते चन्द्रमाको प्रतिकूलता हुने भएकाले ती दिनमा सतर्कता अपनाउनु होला ।

मीन: भाग्य स्थानमा पुगेको सूर्यको मिश्रित प्रभाव प्राप्त हुनेछ, उता राशि स्वामी बृहस्पति समेत अस्ताएको समय भएको हुँदा बढी आशावादी र महत्त्वाकाङ्क्षी बन्नु पनि उचित हुँदैन । समग्र ग्रह गोचरको विश्लेषण गर्दा उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । तर भाग्येश मङ्गल बाह्रौँ भावमा रहेकाले स्वाभिमान र घमन्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन् । खर्चको मात्रामा वृद्धि भइरहन्छ । समग्रतामा समय सकारात्मक नै भए पनि यस अवधिमा केही मानसिक उल्झन र समस्यामा केन्द्रित हुनुपर्ने देखिन्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्य स्थिति चिन्ताको विषय बन्न सक्छ । खास गरी यो महिनामा शुभ फल प्राप्त गर्न तपाईँले बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु वा नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलवारका दिन बग्दो पानीमा बगाउनु उचित हुनेछ । यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईँका लागि अशुभ रहने छन् ।



नयाँ