arrow

प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचन अनिश्चित : राष्ट्रिय सभा निर्वाचन १२ माघमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
election-commission167.jpg

काठमाडौं। सरकारले राष्ट्रिय सभामा रिक्त हुने २० पदका लागि आगामी १२ माघमा निर्वाचन गर्ने निणर्य गरेको छ। बिहीबार सबेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त हुने निर्वाचित १९ र मनोनित १ गरी २० पदका लागि १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्ने निणर्य गरेको हो । सो सम्वन्धि पत्र शुक्रबार निर्वाचन आयोग पुगेको छ।

‘१२ माघमा राष्ट्रिय सभामा रिक्त हुने २० पदका लागि निर्वाचन गर्ने निणर्य सरकारबाट आएको छ, आयोग निर्वाचनका लागि तयारी अवस्थामा छ,’ निर्वाचन आयोग स्रोतले भन्यो । ४ असार २०७५ मा गोला प्रथाबाट कार्यकाल तोक्ने क्रममा २० जना सदस्यको कार्यकाल चार वर्ष निर्धारण भएको थियो। उनीहरुको कार्यकाल २१ फागुनमा सकिंदैछ।

राष्ट्रिय सभा कानुन अनुसार रिक्त हुनु ३५ दिन अघि सो स्थानमा पदपूर्ति गरिसक्नु पर्छ । आयोगले सोही अनुसार निर्वाचन गर्ने गरी तयारी गर्नु पर्ने भन्दै मिति तोक्नका लागि सरकारलाई आग्रह गरेको थियो ।

आयोगका एक पदाधिकारीले राष्ट्रिय सभाको निर्वाचन पद रिक्त हुनु अघि समय तोकेरै गर्नु पर्ने उल्लेख गरिएको बताए। तर प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचन भने अनिश्चित बनेको ती पदाधिकारीले जानकारी दिए ।

‘राष्ट्रिय सभाको निर्वाचन पद रिक्त हुनु ३५ दिन अघि नै समय तोकेरै निर्वाचन गर्नु पर्ने उल्लेख गरिएको छ, तर प्रदेश र प्रतिनिधिसभाको हकमा बाध्यात्मक अवस्था छैन, त्यसकारण ती उपनिर्वाचन अनिश्चित छ, टुंगो छैन,’ निर्वाचन आयोगका एक पदाधिकारीले हाम्राकुरासँग भने । 

राष्ट्रिय सभामा क कसको पदावधि सकिंदै ?

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल सकिन लागेका १९ निर्वाचित र १ जना मनोनित छन् जसमा नेकपा एमालेका अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल पनि सकिंदैछ ।

यस्तै सरकारले मनोनित गरेका रामनारायण बिडारीको कार्यकाल पनि सकिंदैछ ।

यसैगरी नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर तथा नेपाली कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको कार्यकाल पनि फागुनमा नै सकिन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ