- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिममा अहिले दुई जिम्मेवारी फेरिएका छन् । मुख्य प्रशिक्षकमा पूर्व कप्तान राहुल द्रविड र कप्तानमा रोहित शर्मा आएका छन् । दुवैले आईसीसी विश्वकप टी–२० पछि जिम्मेवारी पाएका हुन् ।
यो जिम्मेवारीलाई दुवैले सफलतापूर्वक बहन गरेर न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा क्लिनस्विप गर्न सफल भएका छन् । भारतले सिरिज ३–० ले जितेको छ ।
कोलकातामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ७३ रनले हराउँदै भारतले सिरिज ३–० ले ह्वाइटवास गरेको हो । भारतले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.२ ओभरमा अलआउट हुँदै १११ रनमात्र बनाउन सक्यो ।
ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले ५१ रन बनाए बाहेक अन्य खेलाडीले सम्झनयोग्य खेलेनन् । आठ खेलाडीले दोहोरो स्कोरसमेत बनाउन सकेनन् ।
प्लेयर अफ दी म्याच अक्षर पटेलले ३ तथा हर्षल पटेलले २ विकेट लिए । त्यस्तै दीपक चहर, युजभेन्द्र चहर र भैंकटेश आयरले १–१ विकेट लिए ।
भारतको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको नोक्सानीमा १८४ रन जोडेको थियो ।
कप्तान रोहितले ३१ बलमा ५६ रन बनाए । इशान किसनले २९ तथा श्रेयस ऐयरले २५ रन जोडे ।
न्यूजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए ।
रोहितले रचे इतिहास
रोहितले पहिलो कप्तानीमै इतिहास रचेका छन् । भारतले लगातार तीन जितसहित क्लिनस्विप गरेको हो । सन् २०१२ मा भएको पहिलो दुई खेलको सिरिजमा भारत १–० ले हारेको थियो ।
सन् २०१७ मा तीन खेलको सिरिजमा भारतले २–१ ले जितेको थियो । पहिलो पटक भारतले न्यूजिल्याण्डविरुद्ध यसपालि क्लिनस्विप गरेको हो ।
इतिहास रचेका रोहित प्लेयर अफ दी सिरिज भएका छन् । उनी सिक्सरम्यान बनेका छन् । उनले अहिलेसम्म भारतका लागि टी–२० मा १५० छक्का पूरा गरेका छन् । उनले अहिलेसम्म ४५० छक्का पनि पूरा गरेका हुन् ।
यो रेकर्ड राख्ने उनी भारतीय पहिलो तथा विश्वकै तेस्रो खेलाडी हुन् । टी–२० मा मार्टिन गुप्टिलको १६५, रोहितको १५० तथा वेष्ट इन्डिजका क्रिस गेलको १२४ छक्का छ ।