arrow

चार दिनपछि मिल्यो सर्लाहीमा काँग्रेसको अधिवेशन विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Congress-convention-14-nepa.jpg

सर्लाही । नेपाली काँग्रेस सर्लाहीको अधिवेशनबारेको विवाद मिलेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि मङ्गलवार केन्द्रीय समितिले जिल्लाका दुवै समूहलाई सहमतिमा ल्याएको हो । 

सहमति भएसँगै सर्लाहीमा काँग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रूपमा भरत राउतलाई खटाइएको छ । राउत यसअघि जिल्लामा छ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा काँग्रेस नेताहरूको समायोजनका लागि सर्लाही आएका थिए ।

सर्लाहीमा मुख्य गरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले काँग्रेसको अधिवेशन नै सुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं. १ कालाई क्षेत्र नं. ३ तथा क्षेत्र नं. ३ कालाई क्षेत्र नम्बर १, क्षेत्र नं. २ कालाई क्षेत्र नं. ४ र क्षेत्र नं. ४ कालाई क्षेत्र नं. २ मा खटाएको छ । 

कुन मतदान अधिकृतलाई कुन वडा पर्‍यो भन्नेबारे गोप्य नै राखिएको छ । वडा स्तरमा मतदान गराउन काँग्रेस निकट नै शिक्षकहरूलाई मतदान अधिकृतको रूपमा खटाइने छ । निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब काँग्रेसको वडा अधिवेशन मङ्सिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिए । 

भोलि सम्ममा नयाँ निर्वाचन अधिकृत सर्लाही आएर मतदान अधिकृतहरूलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने छ । सहमति जुटेसँगै आफूहरू सर्लाहीका लागि हिँडिसकेको जिल्ला सभापति रायले बताए । 

काँग्रेस सर्लाहीमा क्रियाशील सदस्यताको विषयमा पनि विवाद छ । केही क्षेत्रमा नयाँ क्रियाशील सदस्यहरू थपिएका र कतिपय ठाउँमा हटाइएको वार्तामा सहभागी जिल्ला सचिव नवीन अधिकारीले बताए ।

 जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबिचको विवादले अधिवेशन गराउन नसकेर यसअघि दुई पटक खटाइएका निर्वाचन अधिकृत राजीनामा दिएर फर्किएका थिए। दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि त सदरमुकाम मलंगवामा काँग्रेसको एक समूहले हातपात नै गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ