- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अहिलेसम्मकै धेरै उत्परिवर्तीत नयाँ भेरिअन्ट फेला परेसँगै विश्व फेरि तर्सिएको छ । झन्डै ५० वटा उत्परिवर्तन भेटिएको यो नयाँ भेरिअन्ट विरुद्ध खोप समेत कम प्रभावकारी हुनसक्ने चिन्ता बढेको छ ।
यसबिच बेलायतले ६ अफ्रिकी देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ । थुप्रै युरोपेली मुलुकहरूले पनि नयाँ यात्रा प्रतिबन्ध लागु गर्ने तयारी गरिरहेका छन्, भने भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउनेमा कडाइ गरेको छ ।
नेपालले पनि दक्षिण अफ्रिकाबाट आउनेमा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउने नागरिकलाई क्वारेन्टिनमा राखिने, कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिने र जीन सिक्वेन्सिङ पनि गरिने जानकारी दिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि कुन भेरिअन्ट हो भनेर थाहा पाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। हाल नेपालमै जीन सिक्वेन्सिङ गरिन्छ ।
दक्षिण अफ्रिकाबाट आउनेलाई क्वारेन्टिनमा राखिने, परीक्षण गरिने र जीन सिक्वेन्सिङ गर्ने भएका छौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हाम्राकुरासँग भने ।
बी १.१.५२९ नाम दिइएको यो भेरिअन्टको सङ्क्रमण अहिले दक्षिण अफ्रिकामा फेला परेको छ । यद्यपि, त्यहाँबाट आएका नागरिकमा बोत्स्वाना र हङकङमा पनि सोही भेरिअन्टको सङ्क्रमण फेला परिसकेको छ।
बोत्स्वाना, हङकङलगायत जुन जुन देशमा नयाँ भेरिअन्टको सङ्क्रमण बढ्छ ती देशबाट आउनेलाई क्वारेन्टिनमा राखेर परीक्षण गरिने र जीन सिक्वेन्सिङ गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।