- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको भेरिअन्ट अहिलेसम्मकै खतरनाक भएको वैज्ञानिकहरूले बताएका छन् ।
अहिले दक्षिण बी १.१.५२९ नाम दिइएको यो भेरिअन्टका सङ्क्रमितहरू दक्षिण अफ्रिकाको एक प्रान्तमा बढी देखिएका छन् । यद्यपि, यो भेरिअन्टकै सङ्क्रमित बोत्स्वाना र हङकङमा पनि फेला परिसकेका छन् भने अन्त पनि फैलिसकेको अनुमान गरिएको छ ।
अहिलेसम्मकै धेरै उत्परिवर्तन देखिएको यो भेरिअन्ट कति तीव्र गतिमा फैलिन्छ र खोपले यो भेरिअन्ट विरुद्ध कति काम गर्छ भन्ने प्रश्नहरू उठेका छन् ।
यो भेरिअन्ट अहिलेसम्मकै खतरनाक र यस विरुद्ध खोपले समेत कम काम गर्ने चिन्ता बढेसँगै बेलायतले ६ अफ्रिकी देशबाट यात्रामा प्रतिबन्ध लगाइसकेको छ ।
यस्तै थुप्रै युरोपेली मुलुकहरूले पनि नयाँ यात्रा प्रतिबन्ध लगाउने तयारी गरेका छन् । भारतले समेत दक्षिण अफ्रिका बोत्स्वाना र हङकङबाट र यो देशको ट्रान्जिट हुँदै आउने यात्रुहरूमाथि कडाइसँगै परीक्षण एवं निगरानीमा राख्न निर्देशन दिइसकेको छ ।
यो भेरिअन्ट अविश्वसनीयरुपमा भारी उत्परिवर्तित रहेका र अन्य भेरिअन्ट भन्दा निकै फरक रहेको दक्षिण अफ्रिकाको महामारी प्रतिक्रिया र इनोभेसन केन्द्रका निर्देशक प्रोफेसर टुलियो डे ओलिभेराले बताएका छन् । यो भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अल्फा, डेल्टा झैँ शुक्रवार (आज)ग्रिक नाम दिने बताइएको छ ।
प्रोफेसर टुलियो डे ओलिभेराले यो भेरिअन्टमा ५० उत्परिवर्तन भेटिएको र त्यसमध्ये ३० उत्परिवर्तन स्पाइक प्रोटिनमा भएको बताएका छन् ।
कोरोना भाइरसविरुद्धका खोपहरू यसै स्पाइक प्रोटिनलाई लक्षित गरेर उत्पादन भएका कारण खोप कम प्रभावकारी हुनसक्ने चिन्ता बढेको छ ।
यस्तै रिसेप्टर बिन्डिङ डोमेन जुन भागले हाम्रो शरीरको कोशिकासँग सम्पर्क बनाएर शरीरमा प्रवेश गर्छ त्यसमा १० वटा उत्परिवर्तन भएको उनले बताएका छन् ।
जुनकी डेल्टा भेरिअन्टमा २ वटा मात्रै उत्परिवर्तन रहेका छन् । डेल्टा अहिले सबैभन्दा सङ्क्रामक भेरिअन्टकारुपमा रहेको छ ।
यद्यपि, उत्परिवर्तनले भाइरसलाई झनै कमजोर पनि बनाउने भए पनि सुरुमा बुहानमा देखिएको भाइरसको स्वरूपलाई लक्षित गरेर खोप बनेका कारण धेरै उत्परिवर्तन भएको भेरिअन्ट विरुद्ध खोप काम गर्न सक्नेमा आशङ्का बढेको हो ।
तर, धेरै जसो भाइरसका स्वरूपहरू उत्परिवर्तनका हिसाबले खतरनाक देखिए पनि सङ्क्रमण गर्ने र गम्भीर रोगी बनाउने कुरामा भने कमजोर हुन्छन् ।
यो भेरिअन्ट माथि उब्जेका सबै प्रश्नको जवाफ अब, अनुसन्धानबाट थाहा हुने भए पनि त्यतिन्जेल सङ्क्रमण फैलिन नदिन विश्वभर नै कडाइ सुरु हुन थालेको हो ।